काठमाडौं– कुनै पनि खेलको नतिजा त्यसका खेलाडीको प्रदर्शन र तयारीमा भर पर्छ। तर, भारतीय फुटबल महासंघ (एआईएफएफ)ले अर्को वर्ष छिमेकी राष्ट्र चीनमा हुने एएफसी एसियन कप–२०२३ मा भारतीय टोलीले खेल्छ कि खेल्दैन भनेर भविष्यवाणी गर्न ज्योतिष कम्पनीसँग सम्झौता गरेको पाइएको छ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार यसका लागि एआईएफएफले दक्षिण दिल्लीको कम्पनीसँग तीन महिनाका लागि मासिक ८ लाख रुपैयाँको सम्झौता गरेको थियो। कम्पनीसँग २०२२ को अप्रिल, मे र जुन महिनासम्म सम्झौता भएको स्रोतले जनाएको छ।
एआईएफएफले कम्पनीलाई दुई महिनाको रकम भुक्तानी समेत दिइसकेको छ। सर्वोच्च अदालतले गठन गरेको प्रशासक समितिले एआईएफएफको कगजात हेर्दा यो सम्झौता भएको खुलेको थियो। त्यसपछि एआईएफएफका एक उच्च अधिकारीलाई यसबारे सोधिएको थियो।
उनले पहिले यो भारतीय र अन्य टोलीको तथ्यांक दिने कम्पनी भएको बताएका थिए। तर, एआईएफएफले यसका लागि विदेशी कम्पनीसँग केही वर्षअघि नै सम्झौता गरिसकेको थियो।
समाचारमा जनाइएअनुसार एआईएफएफले रकम भुक्तानी गरेको भौउचरमा लेखिएको उक्त कम्पनीको ठेगाना पनि गलत सावित भएको छ। त्यसपछि न्यायाधीश एएन दवे, एसवाई कुरैशी, भास्कर गांगुली सम्मिलित समितिले तेस्रो महिनाको तलब तत्काल रोक्न आदेश दिएका थिए।
जुन १४ मा कोलकातामा भएको छनोटमा हङकङलाई ४–० ले हराउँदै भारत पाँचौंपटक एसिया कपमा छनोट भएको थियो। भारतीय टोलीले पहिलोपटक सन् १९६४ मा एसियन कपमा स्थान बनाएको थियो। त्यसपछि सन् १९८४, २०११ र २०१९ मा पनि यो प्रतियोगिता खेलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।