काठमाडौं– परिवारको कोही सदस्य अपहरणमा परेको खबर सुन्नेबित्तिकै पूरै परिवारको होस ठाउँमा रहन्न। त्यसैमा माग गरिएको रकम नदिए केही दिनमै मारिदिन्छौं भनेर धम्की आउँदा त झन् कसरी मुक्त गराउने भन्ने तनावमै हुन्छन् परिवार।
तर, कहिलेकाँहि मानिसले यस्ता घटनाको जाल आफ्नै परिवारमाथि बुन्न पुग्छन्। यस्तै गरे, सप्तरीका ३१ वर्षीय कृष्णकुमार शर्माले। सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ३ घर भएका शर्मा ललितपुरको इमाडोलमा डेरा गरी बस्थे।
असार १ गते उनी घरमा पैसा पठाउने भन्दै कोठाबाट आइएमईतिर हिँडे। तर, उनी आइएमईतर्फ गएको केही समयमै उनको मोबाइल स्वीच अफ भयो।
परिवारका सदस्यले रातभर उनलाई फोन सम्पर्क गर्ने प्रयास गरे। तर, हुन सकेन। एक्कासी असार २ गते शर्माको इमोबाट परिवारका सदस्यलाई म्यासेज आयो।
इमोमा आएको म्यासेजमा शर्मा अपहरणमा परेको र दुई दिनभित्र २० लाख रुपैयाँ नपठाएर मारिदिने धम्की थियो। त्यति मात्र होइन, शर्मालाई मार्नका लागि अन्यत्रबाट ८ लाख रुपैयाँ दिइसकेको तर परिवारबाट २० लाख फिरौती दिए अपहरणमुक्त गरिदिने धम्की थियो।
दुईदिनभित्र कसरी कसरी त्यत्रो पैसा जुटाउनु! परिवारका सदस्य प्रहरीको शरणमा गए। प्रहरीले उनको खोजतलास सुरु गर्यो। खोजतलासका क्रममा उनी विराटनगर गएको पत्ता लाग्यो। मोरङ प्रहरीले शर्मालाई विराटनगरबाट पक्राउ गर्यो।
पक्राउ परेपछि थाहा भयो, परिवारबाट रकम असुल्नका लागि उनी आफैंले अपहरणमा परेको नाटक गरेका रहेछन्।
असार ५ गते पक्राउ परेका उनलाई मोरङबाट ललितपुर ल्याएर सार्वजनिक उपद्र्याई गर्न नहुने कसूर अन्तर्गत अनुसन्धान भइरहेको महानगरीय वृत्तले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।