काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाइराख्न मूल्यवृद्धि गरिएको जवाफ दिएको छ। पेट्रोलिय पदार्थको मूल्यवृद्धिबारे सोमबार सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेपछि मंगलबारको प्रतिनिधि सभा बैठकमा जवाफ दिन उपस्थित भएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले आपूर्ति सहज बनाइराख्न पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको बताए।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र सो बमोजिम सर्वसाधारणको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगर्दा आयल निगमलाई जेठ मसान्तसम्म करिब ५० अर्ब रुपैयाँ घाटा हुन गएको उनले बताए।
बडूले इन्डियन आयल कर्पोरेसनलाई तिर्नुपर्ने २२ अर्ब रुपैयाँ हाल बक्यौता रहेको पनि बताए। 'म सदनसमक्ष जानकारी गराउन चाहन्छु। सोही कारण इन्डियन आयल कर्पोरेसनलाई पेट्रोलियम पदार्थ खरिद बापत तिर्नुपर्ने बक्यौता रकम बढ्दै जाने देखिएको हुँदा आपूर्ति सहज बनाइराख्नका लागि मूल्य समायोजन गर्दै जानुपर्ने बाध्यात्मक स्थिति निगमका सामुन्ने देखापरेको छ', प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले भने।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद्हरुले पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको विरोध गर्दै सरकारको जवाफ माग गरेका थिए। सोही अनुसार सभामुख अग्निप्रसाद सापकोटाले जवाफका लागि रुलिङ गरेका थिए। बडूले मंगलबारको बैठकमा जवाफ दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।