काठमाडौं– सरकारले जयपृथ्वी बहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको हो।
नेपाली भाषा तथा शिक्षा क्षेत्रको विकास तथा नेपाललाई विश्वसामू चिनाउन गरेको निर्णायक योगदानको कदरस्वरुप सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय भएको हो।
१९३४ भदौ ७ गते बझाङमा जन्मिएका सिंहले लेखेको अक्षराङ्क शिक्षा नाम पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ। उनको अर्को पुस्तक 'प्राकृतव्याकरण' पनि गोरखापत्र छापाखानाबाट १९६९ सालमा प्रकाशित भएको थियो।
सिंहले ‘अक्षरमाला’, ‘पदार्थ तत्व विवेक’, ‘बालबोध–भाग १’, ‘जापानको इतिहास’, ‘शारीरिक शिक्षा दर्पण’, तथा ‘श्रेस्ता दर्पण भाग १ र २’, ‘बालबोध’, ‘प्राकृत व्याकरण’, ‘भूगोलविद्या’, ‘मानवतावादसम्बन्धी ३ भोल्युम’, ‘द फ्ल्याग अफ पिस’ जस्ता दार्शनिक पुस्तक पनि लेखेका छन्।
नेपालको जेठो अखवारको रुपमा लिइने गोरखापत्रको प्रकाशनमा समेत सिंहको योगदान छ। सिंहले तत्कालीन राणा प्रधानमन्त्री देवशमशेरलाई पत्रपत्रिकाको महत्व बुझाएर गोरखापत्र प्रकाशन गर्न हौसला प्रदान गरेका थिए।
सिंहले १९६० सालमा गोरखापत्रको दोस्रो व्यवस्थापकको रुपमा जिम्मेवारी सम्हालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।