काठमाडौं– नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले युनिफिल मिसन लेबनानमा तैनाथ नेपब्याट हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन्। असार ४ गतेबाट युनिफिल मिसन लेबनानको निरीक्षण भ्रमणमा रहेका प्रधान सेनापति शर्मा सहितको टोलीले सोमबार नेपब्याट हेडक्वार्टरको निरीक्षण भ्रमण गरेको हो।
प्रधान सेनापति शर्माले शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पुर्याएका २ नेपाली शान्ति सैनिक र लामो समयदेखि लेबनानमा नेपाली सेना तथा नेपाली नागरिकहरुलाई सहयोग गरेका ३ लेबनानी नागरिकलाई ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरे।
प्रधान सेनापति शर्माले युनिफिल फोर्सको हेडक्वार्टरको भ्रमण गर्दै मिसनका हेड फोर्स कमाण्डर मेजर जनरल अरोल्डो लाजारो सानेजसँग शिष्टाचार भेटवार्ता गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
भेटमा मेजर जनरल सानेजले दक्षिण लेबनानमा शान्ति स्थापनाका लागि युनिफिल मिसनमा स्थापना कालदेखि नै नेपाली सेनाको निरन्तर सहभागिता तथा व्यावसायिकताको प्रशंसा गरेका थिए।
प्रधान सेनापति शर्माले दक्षिण लेबनानमा शान्ति स्थापनाको लागि युनिफिलको म्यान्डेटअनुरुप कार्य सम्पादन गर्न नेपाली सेना सदैव कटिवद्ध रहेको बताए। शर्माले युनिफिलमा नेपाली सेनाको निरन्तर सहभागिताको प्रतिबद्धता समेत जनाए।
भ्रमणकै क्रममा प्रधान सेनापति शर्माले मिसनका अन्य पदाधिकारीहरुसँग समेत भेट गरेर मिसनको वस्तुस्थिति तथा विविध पक्षहरुको बारेमा जानकारी लिएका थिए। उक्त भेटघाटपछि प्रधान सेनापति शर्माले फोर्स हेडक्वार्टरमा कार्यरत नेपाली सेनाका स्टाफ अधिकृतहरुसँग अन्तर्क्रिया गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।