काठमाडाैं-अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमितिका लागि मतदान सकिएको छ। सोमबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आगामी चार वर्षे नयाँ कार्यसमितिका लागि मतदान भएको थियोे।
अबको केही समयमा मतगणना सुरू हुनेछ।
एन्फाको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङको प्यानलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। अध्यक्षमा कर्माछिरिङ र पंकजबिक्रमसहित फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौड्याल पनि प्रतिस्पर्धामा छन्। पौड्याल भने एकल उम्मेदवार हुन्।
एन्फामा अध्यक्षका लागि राजनीतिमा लामो समयदेखि सँगै रहेका वर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने २१-२१ सदस्यीय कार्यसमितिका लागि प्यानल नै बनाएर अघि बढेका छन्।
एन्फाको साधारण सभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ। वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ।१५ सदस्यमध्ये १३ जना खुल्ला र २ जना महिला सदस्यका लागि पनि दुवै प्यानलबाट उम्मेदवार छन्।
यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका छन्। निर्वाचनमा ४५ जिल्लाले मताधिकार पाउने भए पनि यसपटक ४२ जिल्लाले मात्र मत हालेका छन्।
भक्तपुर र सिन्धुलीको जिल्ला निर्वाचनमा विवाद हुँदा मताधिकारबाट बन्चित भएका थिए। यस्तै, एन्फाको विधानविपरीत मताधिकार दिइएको बन्दै दाबीविरोध परेपछि सिरहा जिल्लाको मताधिकार बदर भएको थियो।
निर्वाचनमा १४ ‘ए’ डिभिजन क्लब, ११ ‘बी’ डिभिजन क्लब र ९ ‘सी’ डिभिजन क्लबले मत खसाल्नेछन्। यसैगरी राष्ट्रिय लिगमा छनोट भएका मोफसलका ४ क्लबले मत दिएका छन्। एन्फाअन्तर्गतको महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघले पनि मत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।