काठमाडौं–नक्कली शैक्षिक प्रमाणपत्रसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठ ३ गते महाराजगञ्जबाट तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–७ घर भई काठमाडौं बनस्थली बस्दै आएका ३७ वर्षीय विकाश अमगाई, काभ्रेको पनौती नगरपालिका–२ कुसादेवी घर भई छाउनी बस्दै आएका ३७ वर्षकै रामकुमार हुमागाईं, गोरखाको भीमसेन थापा गाउँपालिका–८ घर भई बनस्थली बस्ने ४० वर्षीय मोहन पुडासैनी छन्।
उनीहरुले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए। राजकुमार हुमागाईंको नाममा जारी भएको स्नातक तहको नक्कली ट्रान्सकिप्ट, विकाश अमगाईंको नाममा जारी भएको पिसिएलको ट्रान्सकिप्ट बरामद भएको छ।
पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिताको परिच्छेद २५ को लिखत सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। पक्राउ परेका परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।