काठमाडौं–अदालत परिसरबाट भागेका लागुऔषध मुद्दाका एक व्यक्ति ३ घण्टाभित्रै पक्राउ परेका छन्।
उक्त मुद्दामा म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका सप्तरी कचन २ घर भई हाल काठमाडौं महानगरपालिका ९ तिलगंगा बस्ने २८ वर्षीय अनिल ठाकुर आइतबार साँझ ५.३५ बजे अदालत परिसरबाट भागेका थिए।
त्यसपछि उक्त सूचना प्रहरी परिचालन कक्षमा प्राप्त भएपछि तत्कालै काठमाडौं उपत्यकास्थित ललितपुर र भक्तपुरसहित सम्पूर्ण प्रहरी इकाइलाई जानकारी गराइ सुक्ष्म तवरले चेकजाँच गरिएको थियो। प्रहरीका अनुसार सोही क्रममा नगर प्रहरी कार्यालय, भृकुटीमण्डप, प्रहरी वृत्त सिंहदरबार, जनसेवा, नयाँबानेश्वर, गौशाला, दरबारमार्ग, कालिमाटी, थानकोट, कोटेश्वर, नागढुंगा र इप्रका फर्पिङलगायतलाई विशेष तवरले परिचालन गराई काठमाडौंबाट बाहिरिनसक्ने सम्पूर्ण नाकाहरुलाई सिल गरी कडा चेकजाँचको व्यवस्था मिलाइयो।
यसका अतिरिक्त जिल्ला प्रहरी परिसर काठमाडौंबाट विशेष प्रहरी इकाईलाई अनुसन्धानका विविध विधि र प्रविधिमार्फत् अनुसन्धान गर्न खटाइएकोमा जिल्ला प्रहरी परिसरको उक्त विशेष प्रहरी इकाई र प्रहरी प्रभाव कोटेश्वरबाट संयुक्त रुपमा खटिएको टोलीद्वारा चेकजाँचका क्रममा राति ८.३५ बजे कोटेश्वरस्थित आकाशेपुलनजिकबाट ठाकुरलाई पुनः नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।