काठमाडाैं-उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन रोक्ने आदेश दिन अस्वीकार गरेको छ। नयाँ नेतृत्व चयनका लागि बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा साेमबार तय निर्वाचन रोक्न माग गर्दै अधिवक्ता विष्णुप्रसाद तिवारीले उच्च अदालतमा रिट दिएका थिए।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन्।

अदालतले एन्फासँग १५ दिनभित्र लिखित जवाफ पनि माग गरेको छ। 'निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण भए सवुद प्रमाण सहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षीहरुले आफू वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत् लिखितजवाफ पेश गर्नू', आदेशमा भनिएको छ।
एन्फाको नयाँ नेतृत्वका लागि सोमबार हुने निर्वाचनमा हालका अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको प्यानलबीच मुख्य प्रतिस्पर्धा हुने पक्का छ। अध्यक्षमा कर्माछिरिङ र पंकजविक्रमसहित फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौड्याल पनि प्रतिस्पर्धामा छन्। पौडेलले भने एकल उम्मेदवारी दिएका छन्।
वर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ २१–२१ सदस्यीय कार्यसमितिका लागि प्यानल नै बनाएर अघि बढेका छन्।
एन्फाको साधारण सभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ। वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । १५ सदस्यमध्ये १३ जना खुल्ला र २ जना महिला सदस्यका लागि पनि दुवै प्यानलबाट उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।