काठमाडौं– नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा पक्षको बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दै असार १३ गतेका लागि पेसी तोकिएको छ।
कामु प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलसामा सुनुवाई भइरहेको मुद्दामा रिट निवेदन विश्व पोखरेलका तर्फबाट १३ जना कानुन व्यवसायीले बहस गरेका छन्।
उनीहरुकै बहस बाँकी रहेकाले मुद्दा हेर्दा हेर्दै राखिएको हो। पोखरेलका तर्फबाट आइतबार शुरुवाती बहस वरिष्ठ अधिवक्ता एवं सर्वोच्च बार एशोसियनका अध्यक्ष पूर्णमान शाक्यले गरेका थिए।
आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी पोखरेलले २०७९ वैशाख १९ सर्वोच्चमा रिट दायर गरेका थिए। पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको रिटमा जिकिर गरेका छन्।
गत सोमबार एआईजी पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरिसकेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबारका लागि पेसी तोकिएको थियो।
आइतबार विश्वराज पोखरेलका कानुन व्यवसायीले धीरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गैरकानुनी रहेको दाबी पेस गर्ने छन्। सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।