बैतडी– बैतडीका आठवटा स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएका छन्। सोह्र महिनादेखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने खोप पाएपछि ती पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो।
जिल्लाको मेलौली, पुर्चौंडी, पाटन नगरपालिका, शिवनाथ, सिगास, डिलाशैनी, सुर्नया र पञ्चेश्वर गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो।
बाँकी रहेका दशरथ नगरपालिका र दोगडाकेदार गाउँपालिकालाई पनि एक–दुई दिनभित्रै पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
पालिकाभित्र रहेका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएपछि पालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा गर्ने गरिन्छ। स्वास्थ्यचौकीबाट खोप लाएको वडास्तरीय खोप समन्वय समितिले प्रमाणीकरणसहित पालिकालाई सिफारिस गर्ने गर्दछ।
नगरप्रमुख तथा गाउँपालिका अध्यक्षको नेतृत्वमा रहेको पालिकास्तरीय खोप समन्वय समितिले पनि प्रमाणीकरण गरेपछि पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिने प्रावधान रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।