काठमाडौं– भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले हंगेरीका लेजेन्ड फेरेन्क पुस्कासको कीर्तिमान बराबरी गरेका छन्।
उनले पुस्कासको ८४ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गरेका हुन्। उनलाई दुई पटकको इंग्लिस प्रिमियर लिग विजेता क्लब टोटनह्यामले समेत बधाई दिएको छ।
टोटनह्यामले आफ्नो ट्विटर ह्यान्डलमा लेखेको छ, ‘पुस्कासको ८४ गोलको कीर्तिमान बराबरी गरेकोमा सुनिललाई बधाई।’ जुन १४ मा एएफसी एसिया कप छनोट खेलमा हङकङविरुद्धको गोल गर्दै सुनिलले पुस्कासको कीर्तिमान बराबरी गरेका थिए।
एसिया कप छनोटमा सुनिलले ३ खेलमा ४ गोल गरेका थिए। उनले कम्बोडियाविरुद्ध २, अफगानिस्तान र हङकङविरुद्ध एक/एक गोल गरेका थिए।
अन्तर्राष्ट्रिय गोलकर्ताको सूचीमा सुनिल पुस्कससँगै पाँचौं स्थानमा उक्लिएका छन्। पुस्कासले ८५ अन्तर्राष्ट्रिय खेलमा ८४ गोल गरेका छन् भने सुनिलले १२९ खेलमा यो उपलब्धि हासिल गरेका हुन्।
सक्रिय फुटबल खेल्ने खेलाडीको कुरा गर्ने हो भने भारतीय कप्तान सुनिल गोल गर्ने हिसाबले तेस्रो नम्बरमा छन्। उनी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो (११७ गोल) र अर्जेन्टिनाका लियोनल मेसी (८६ गोल) भन्दा अगाडि छन्।
३७ वर्षीय सुनिललाई मेसीसँगको कीर्तिमानी बराबरी गर्न जम्मा दुई गोल आवश्यक छ। सुनिलले भने, ‘मलाई कीर्तिमान र व्यक्तिगत उपलब्धिको चिन्ता लाग्दैन। मलाई मैदानमा खेल्न मात्रै रमाइलो लाग्छ।’
भारत एसिया कपमा छनोट भएको छ। भारतीय टोलीले पहिलो पटक सन् १९६४ मा एएफसी एसियन कपमा स्थान बनाएको थियो। त्यसपछि सन् १९८४, २०११ र २०१९ मा पनि यो प्रतियोगिता खेलेको थियो।
एसिया कप २०२३ मा कूल २४ टोलीले खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।