काठमाडौं– नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) उसको अर्को रणनीति हिन्द प्रशान्त रणनीति (आईपीएस)सँग जोडिने सम्भावना बुझेर २०१९ मै सरकारलाई जानकारी गराइएको बताएका छन्। तत्कालीन अवस्थामा सरकार (रक्षा मन्त्रालय) लाई पत्र नै लेखेर रिभ्यू गर्ने भनेको प्रधान सेनापति शर्माको भनाइ छ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा शर्माले तत्कालीन अवस्थामा (सन् २०१५ मा) भूकम्पको बेला मानवीय सहयोग प्राप्त गर्न सजिलो हुने भएपछि अमेरिकी सरकारकै 'आग्रह'अनुसार एसपीपीलाई पत्र लेखिएको बताए।
तर, पछि स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई पनि अमेरिकाले आफ्नो इन्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस)अन्तर्गत ल्याउने देखिएकाले सन् २०१९ मा नेपाली सेनाले सरकारलाई त्यसबारे बुझ्नुपर्छ भनेर सरकारलाई पत्र लेखेको उनले बताए।
सन् २०१९ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको थियो। तत्कालीन अवस्थामा ईश्वर पोखरेल (हाल एमाले वरिष्ठ उपाध्यक्ष) रक्षामन्त्री र प्रदीप ज्ञवाली (एमाले नेता) परराष्ट्रमन्त्री थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।