काठमाडौं- ताप्लेजुङको सिरिजंगा गाउँपालिका–७ खेवाङमा गएको पहिरोमा परि एकैघरका दुई जनाको मृत्यु भएको छ।
पहिलोमा परि ३४ वर्षीय यशोदा अधिकारी र ५९ वर्षीय तुलसा अधिकारीको मृत्यु भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए। मृत्यु हुने तुलसा सासु र यशोदा बुहारी हुन् भने छोरा घाइते छन्। पहिरोका कारण वडाभरिका ३० घर परिवार विस्थापित भएको बताइएको छ।
गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि सिरीजंघा गाउँपालिका–७ खेवाङमा बिहीबार राति गएको पहिरोमा परेर घाइते भएकाहरूको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा पुगेको छ।
मन्त्री खाणले गृह प्रशासन, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, सशस्त्र प्रहरी बलका प्रदेश १ का प्रमुख सशस्त्र नायब महानिरीक्षक कमल गिरी, नेपाल प्रहरीका प्रदेश १ का निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नविनराज राई, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईलाई टेलिफोन गरेर घाइतेहरूको यथाशीघ्र उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका थिए।
उनको निर्देशनपछि हेलिकोप्टर घटनास्थलमा पुगिसकेको ताप्लेजुङका प्रजिअ पोखरेलले जानकारी दिए।
उनका अनुसार पहिरोमा परेर घाइते भएका ३५ वर्षीय विष्णु अधिकारीलाई हेलिकोप्टरमार्फत सदरमुकाममा रहेको हेलिप्याडमा ल्याएर उपचार गर्ने र थप उपचार गर्नु पर्ने भएमा त्यही हेलिकोप्टरबाटै विराटनगर पठाउने तयारी छ। हेलिप्याडमा घाइतेको उपचारका लागि डक्टरहरू पुगिसकेको प्रजिअ पोखरेलले जानकारी दिए।
गृहमन्त्री खाणले पहिरोबाट थप क्षति हुन नदिन सतर्क रहन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइसकेका छन्।
उनको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।