काठमाडौं - ६ वटा प्रदेशका २३ पालिकाहरुका युवा, मिडिया र नागरिक समाज संस्थाहरुले नेपालको समावेशी विकासका लागि स्थानीय नीति निर्माण र कार्यान्वयनमा युवाको भूमिका अपरिहार्य रहेको ठहर गरेका छन्।
दायित्व नेपाल जनप्रशासन फेलोशिप २०२२ अन्तर्गत् बुधबार भएको भर्चुअल कार्यक्रममा सुदूरपश्चिम, कार्णाली, लुम्बिनी, बागमती, गण्डकी र प्रदेश १का स्थानीय युवा, मिडिया र नागरिक समाजका प्रतिनिधिहरुबीच स्थानीय युवाहरुको भूमिका र संलग्नतालाई कसरी संस्थागत गर्ने भन्ने विषयमा छलफल भएको छ।
छलफलको क्रममा स्थानीय नीति निर्माण प्रक्रिया, सुशासन, युवा रोजगारी, उद्यमशीलता विकास, युवा नेतृत्व, जस्ता समयसापेक्ष मुद्दाहरु उठाइएका थिए।
टेलिभिजन पत्रकार रुपा खड्काले सहजीकारण गरेको उक्त कार्यक्रममा सहभागी युवा तथा नागरिक समाजका प्रतिनिधिहरुले मिडियाले युवा, स्थानीय उदयमशीलता र अन्य संवेदनशील विषयहरुमा कम ध्यान दिएको गुनासो गर्दै स्थानीय तहमा मात्र नभएर राष्ट्रिय तहमै युवाहरुको प्रयास, सफलताका कथाहरुलाई समेट्न आग्रह गरे।
उता मिडियाका प्रतिनिधिहरुले भने ग्रामीण नेपालमा मिडियालाई समाजले हेर्ने दृष्टिकोण नै धेरै फरक रहेको र सूचनाको स्रोत नै कम रहेकोले काम गर्न निकै असहज हुने गुनासो गरे। मिडिया माथि उठेका प्रश्नहरुलाई सम्बोधन गर्ने क्रममा उनीहरुले सरकारी लगायत अन्य संयन्त्रबाट सूचनाको प्रवाह उचित ढंगले भए सबै प्रभावकारी विषयको समाचार संप्रेशण हने बताए।
स्थानीय नीति निर्माण तथा कार्यान्वयनमा युवाको आवाजलाई संस्थागत गर्नको निम्ति युवा आफैले प्रभावकारी पहलहरुलाई सम्बन्धित निकायसम्म पुयाई बारम्बार घचघचाउन पर्ने, नागरिक समाजले युवाहरुलाई सम्बन्धित निकायसम्म पुग्नलाई मदत गर्नुपर्ने र मिडियाले युवाहरुका ती पहलहरुलाई स्थानीय एवं राष्ट्रिय स्तरमै प्रवद्धन गर्नुपर्ने निचोड कार्यक्रमले निकालेको छ।
दायित्व नेपाल जनप्रशासन फेलोशिप २०२२ अन्तर्गतका २३ जना फेलोहरुले छवटा प्रदेशका २३ वटा पालिकाहरुमा विगत चार महिना देखि पालिका अन्तर्गतर्गका जन-अधिकारीहरु र स्थानीय सरकारका निर्वाचित प्रतिनिधिहरुलाई स्थानीय नीति निर्माणको लागी अनुसन्धान गर्न र स्थानीय नीतिको कार्यान्वयनमा सहयोग गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।