काठमाडौं– सौन्दर्य प्रतियोगिताको आडमा यौनहिंसा गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार मुद्दा दर्ताको तयारी गरेको छ।
जिल्ला सरकारी वकिल कार्यालयका अनुसार उनको मुद्दामा प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन सकिएको छ। सम्भवत: बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर हुने छ। उनीविरुद्ध मानव बेचविखन प्रमुख अभियोग हुने सरकारी वकिलको कार्यालयले जनाएको छ।
शरीर बन्धक बनाई नाबालिगलाई शारीरिक शोषण गरेको लगायतको अभियोगमा उनलाई १० देखि १५ वर्ष कैद सजायको माग गर्दै अभियोगपत्र दायर गर्ने तयारी हुँदैछ।
त्यस्तै, यौन हिंसा र बलात्कारमा हदम्याद नभएपछि हदम्याद भएको जाहेरीलाई भने टेकेर अभियोग थप गर्ने तयारीमा सरकारी वकिलको कार्यालय रहेको छ।
सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोप पाण्डेमाथि लागेको थियो। पीडितले घटना सार्वजनिक गरेपछि फरार रहेका पाण्डेलाई प्रहरीले जेठ ७ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो।
पाण्डेले बलात्कारपछि फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।