काठमाडौं– हंगेरीले यूईएफए नेसन्स लिग फुटबलमा १० खेलाडीमा सीमित इङ्ग्ल्याण्डलाई पराजित गरेको छ।
मंगलबार राति मोलिनक्स स्टेडियममा सन्पन्न खेलमा हंगेरीले घरेलु टोली इङ्ग्ल्याण्डलाई ४–० गोल अन्तरले पराजित गरेको हो। हंगेरीका लागि रोलान्ड सल्लाईले दुई गोल गरे। यता,नागी र डानिल गाज्दागले एक एक गोल गरे।
खेलको १६औं मिनेटमा रोलान्डले गोल गर्दै हंगेरीलाई सुरुआती अग्रता दिलाएका थिए। ७०औं मिनेटमा रोलान्डले व्यक्तिगत दोस्रो गोल गर्दै हंगेरीलाई २–० को अग्रता दिलाए।
८०औं मिनेटमा नागीले गोल गर्दै हंगेरीलाई ३-० को अग्रता दिलाए। ८२औं मिनेटमा जोन स्टोन्सले रातो कार्ड पाएपछि इङ्ग्लयाण्ड १० खेलाडीमा समेटियो।
त्यसपछि ८९औं मिनेटमा डानिल गाज्दागले गोल गर्दै हंगेरीलाई ४–० को सहज जित दिलाए।
जितसँगै हंगेरी लिग ए समूह ३ को शीर्ष स्थानमा उक्लिएको छ। हंगेरीले ४ खेलमा ७ अंक जोडेको छ। इङ्ग्ल्याण्ड ४ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।