काठमाडौं– जर्मनीले यूईएफए नेसन्स लिग फुटबलमा इटालीलाई पराजित गरेको छ। बोरुसिया पार्कमा मंगलबार राति सम्पन्न खेलमा घरेलु टोली जर्मनीले इटालीलाई ५-२ गोल अन्तरले पराजित गरेको हो।
जर्मनीलाई जित दिलाउन टिमो वेर्नरले दुई गोल गरे। जोसुवा किमिच, इल्के गुण्डोगान र थोमस मुलरले १/१ गोल गरे। इटालीको लागि विल्फ्रिड जिनोन्टो र एलेसान्द्रो बास्टोनीले १/१ गोल फर्काए।
खेलको १०औं मिनेटमा किमिचले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा गुण्डोगानले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता २-० को बनाए।
५१औं मिनेटमा मुलरले गोल गर्दै जर्मनीलाई ३-० को अग्रता दिलाए। ६८औं मिनेटमा वेर्नरले गोल गर्दा जर्मनी ४-० ले अघि रह्यो।
६९औं मिनेटमा वेर्नरले व्यक्तिगत दोस्रो गोल गरेपछि जर्मनीको अग्रता ५-० को बन्यो। ७८औं मिनेटमा जिनोन्टोले गोल गर्दै इटालीलाई ५-१ को स्थितिमा ल्याए।
त्यसपछि खेलको इन्जुरी समयमा बास्टोनीले गोल गरेपनि इटाली ५-२ ले पराजित भयो।
जितसँगै जर्मनी लिग ए समूह ३ को दोस्रो स्थानमा उक्लिएको छ। जर्मनीले ४ खेलमा ६ अंक जोडेको छ।इटाली ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।