काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि लगाइएको रोप झुटो र भ्रामक भएको बताएका छन्। नेपाल सरकार कार्यसम्पादन निमवाली २०७४ अनुसार तोकिएको सीमाभित्र रहेर बजेट निर्माण गरेको उनले दाबी गरेका छन्।
‘बजेट तथा आर्थिक तर्जुमा सन्दर्भमा स्पष्ट रूपमा परिभाषित गरिएका प्रक्रियाहरू छन्। ती प्रक्रियामा रहेर मूख्यतः अर्थ सचिव र राजस्व सचिव गरी दुईवटा सचिव रहने व्यवस्था अर्थमन्त्रालयमा छ। सोही अनुसार बजेट निर्माण गरिएको हो’, अर्थमन्त्री शर्माले भने।
उनले जिम्मेवार व्यक्तिको मातहतमा रहेर बजेट निर्माण गरेको जानकारी दिएका छन्। उनी भन्छन्, ‘उहाँहरूको मातहतमा रहेका अन्य विभागीय प्रमुख र कर्मचारीहरूको विभिन्न स्तरामा छलफल भएर विभिन्न सरोकारवालाबाट आएको सुझावको आधारमा प्रस्ताव बनाइने गरिएको छ।’
सरकारले बजेटमा आवश्यक तयारी गरेर निष्कर्षमा ल्याउन र अर्थमन्त्रीले सरकारको नीति तथा भिजनलाई नीतिगत रुपमा निर्देशन दिने आधारमा बजेट तयार हुने व्यवस्था रहेको शर्माको भनाइ छ। उनले अहिलेको बजेट बनाउँदा पनि त्यसैलाई आधार मानेर तयार गरिएको उनले स्पष्ट पारे।
अर्थमन्त्रालयले छलफल हुँदा प्राप्त भएको सुझावलाई बढीभन्दा बढी समेट्ने कुरामा ध्यान दिने र सम्बन्धित मन्त्रालयले पठाएका कार्यक्रम र योजनाहरू अर्थमन्त्रालयको बजेटसँग सम्बन्धित व्यक्तिबीचको दुईपक्षीय छलफलको माध्यमबाट त्यसलाई टुंग्याउने काम परम्परागत रहेकाले सोहीअनुसार बजेट तयार भएको अर्थमन्त्री शर्माले दाबी गरे।
उनले भने, ‘अहिले बजेट निमार्णको विषयमा एउटा कुरा उठेको छ। राजस्वको दर परिमार्जन गर्न कुनै मान्छे रातको १२ बजे आएर चलखेल ग¥यो भन्ने सन्दर्भमा जुन विषय उठेको छ। त्यो भ्रामक र कपोकल्पित रुपमा एउटा कथा बनाइएको हो।’
शर्माले आफूमाथि लागेको उक्त आरोपको खण्डन गरेका छन्। उनले भने, ‘म यो कुराको खारेजी गर्न चाहान्छु। मन्त्रालयमा जिम्मेवार पदाधीकारीहरू (सचिवहरू) को नेतृत्वमा राजस्व सम्बन्धी तयारी र अर्थसचिवको नेतृत्वमा अर्थसम्बन्धी तयारी हुनेगरी कार्यविभाजन कमिटी बन्ने र ती कमिटीले बजेटका कुरालाई प्रक्रियागत रूपमा कार्यसम्पादन गर्ने व्यवस्था छ।’
बजेटमा भएको सबै काम आधिकारिक रूपमा भएको उनको दाबी छ। शर्माले आफू अर्थमन्त्री भएको हैसियतले नियमवलीको आधारमा रहेर कार्यसम्पादन गरेको जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।