काठमाडौं– त्रिभुवन चन्द्र बहुमुखी क्याम्पस (त्रिचन्द्र कलेज)को जीर्ण भवनको पुन:निर्माणको माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका छन्। कलेजका विद्यार्थीहरुले जीर्ण भवनको पुन:निर्माणको माग गर्दै मंगलबार सडकमै विरोध प्रदर्शन गरेका छन्।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएका समेत क्याम्पसका भौतिक संरचनाको पुन:निर्माण हुन नसक्दा विद्यार्थी जीर्ण कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य छन्। कलेजमा अध्ययनरत विद्यार्थीहरुले भवन कतिबेला भत्किन्छ भन्ने डरमा पढ्नुपरेको बताएका छन्।
वर्षाको समयमा भवनका कक्षाकोठामा पानी चुहिने गरेको उनीहरुको भनाइ छ। अध्ययनका लागि क्याम्पस पस्ने विद्यार्थीको संख्या बढीरहे पनि भवन भत्किएर खस्ने हो कि भन्ने डरमा कलेजमा बस्नै डर लाग्न थालेको विद्यार्थीको गुनासो छ। प्रधानमन्त्री शेरबहादुर देउवाले समेत आफूले अध्ययन गरेको कलेजको पुन:निर्माणका लागि कुनै चासो नदिएको विद्यार्थीको गुनासो छ।
नजिकै रहेको धरहरा र रानीपोखरीको पुन:निर्णमाण हुँदा पनि विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्ने र विद्यार्थीलाई योग्य बनाउने शैक्षिक संस्था बन्न नसक्नु दुःखद् रहेको कलेजका विद्यार्थी गोविन्द कोइरालाको भनाइ छ।
२०७२ सालको भूकम्पपछि रातो स्टिकर लगाएर राखिएको भवन निर्माणको काम अहिलेसम्म सुरु नहुँदा कक्षा कोठाको अभाव भएको र विद्यार्थीहरुले उठेर पढ्नुपर्ने बाध्यता रहेको कोइरालाले सुनाए।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माणको जिम्मा पाएको र गत वर्षसम्म नबनाएपछि शिक्षा मन्त्रालयले नै भवन निर्माण गर्ने जिम्मा लिएपनि अहिलेसम्म कुनै पहलकदमी नभएको कोइरालाको भनाइ छ।
अर्का विद्यार्थी शेरेन जोशीले घरबाट कलेज आएपछि पढ्न बस्दा कहिले पुरिने हो भन्ने डरमा अध्ययन गर्नुपरेको बताए। विद्यार्थी सुरेन्द्र विश्वकर्मा र विष्णु पाण्डेले कलेजका भवनहरु निर्माण नहुँदा विद्यार्थी सडकमा आउनुपरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।