काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेटिएको 'किसान पेन्सन' कार्यक्रमका लागि ५ लाख किसान सूचीकृत भइसकेको जानकारी दिएको छ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री महेन्द्र राय यादवले पेन्सन दिनका लागि ५ लाख किसान सूचीकृत भइसकेको जानकारी दिए।
सूचीकृत भइसकेका किसानलाई पेन्सन उपलब्ध गराउनका लागि अर्थ मन्त्रालय र सरोकारवाला निकायसँग छलफल भइरहेको मन्त्री यादवको भनाइ छ। मन्त्री यादवले सूचीकृत भइसकेका किसानलाई छिट्टै पेन्सन उपलब्ध गराइने प्रतिवद्धता समेत व्यक्त गरे।
'हालसम्म करिब ५ लाख किसान पेन्सनका लागि सूचीकृत भईसकेका छन्। बजेट वक्तव्यमा उल्लेख भए बमोजिम किसान पेन्सनका लागि कोषको व्यवस्थापनको सन्दर्भमा अर्थ मन्त्रालय र सरोकारवाला निकायसँग परामर्श र ठोस कार्ययोजना बनाई कार्यान्वयनमा लगिने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,' मन्त्री यादवले भने।
किसान पेन्सन कार्यक्रमअन्तर्गत भूमिहीन कृषक र कृषि मजदुरहरुको पनि सूचीकरण गरिने मन्त्री यादवको भनाइ छ। ' भूमिहीन कृषक र कृषि मजदुरलाई पनि राज्यले उपलब्ध गराउने कृषक सुरक्षा कार्यक्रममा सहभागी गराइने पनि यो सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु,' मन्त्री यादवले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।