काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि समय उपलब्ध गराएको छ।
एन्फाले सोमबार आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले प्रालि (एनएसइएम)लाई पत्र काट्दै एनएसएलका लागि भदौ २५ गतदेखि कात्तिक ५ गतेसम्मको समय उपलब्ध गराएको हो।
‘नेपाल सुपर लीग फुटबल प्रतियोगिता सञ्चालन गर्न २०७९ भदौ २५ गतेदेखि कात्तिक ५ गतेसम्मको लागि मिति उपलब्ध गराइएको व्यहोरा निर्देशानुसार जानकारी गराउदछौं,’ महासचिव इन्द्रमान तुलाधारले पठाएको पत्रमा भनिएको छ।
साथै एन्फाले प्रतियोगिता सञ्चालन गर्नुपूर्व खेल तालिका तथा खेल नियमावलीसहित प्राविधिक पक्षका विषयहरु खेल हुनुपूर्व स्वीकृत गराएर मात्र प्रतियोगिताका खेलहरु सञ्चालन गर्न समेत आग्रह गरेको छ।
यसअघि एनएसएलको दोस्रो संस्करण चैत्र २६ गतेदेखि ८ गतेसम्म हुने तय भएको थियो। तर, सहभागी क्लबहरुले तयारीका लागि समय नपुग्ने बताएपछि प्रतियोगिता स्थगित भएको थियो।
त्यसपछि प्रतियोगिता आयोजनाका लागि एनएसइएमले एन्फासँग भदौ २५ देखि कात्तिक ५ गतेसम्मको समय माग गरेको थियो। प्रतियोगिताको लागि आयोजकले गत फागुन २० गते खेलाडी ‘अक्सन’समेत गरिसकेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।