काठमाडौं– गैरआवासीय नेपाली संघ (अन्तर्राष्ट्रिय समन्वय परिषद्) ले कीर्तिपुरमा कोरियन प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने भएको छ।
सोमबार कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मी र एनआरएन, आईसीसीका अध्यक्ष विनोद कुँवरको टोलीबीच फोहोर व्यवस्थापनको विषयमा छलफल भयो। छलफलमा दुवै पक्ष सकारात्मक रहेको संघकी महासचिव जानकी गुरुङले जानकारी दिइन्।
नेपालमा देखापरेको फोहोर बिसर्जनका समस्याहरुलाई न्यूनीकरण गर्न र त्यसलाई आधुनिक प्रविधिबाट प्रशोधन गरी उपयुक्त व्यवस्थापन गर्न नगरपालिकासँग समन्वय गर्न तयार रहेको र त्यस कार्यमा मेयर नकर्मी सकारात्मक भएको संघका अध्यक्ष कुँवरले बताए।
अध्यक्ष कुँवरले कोरियन सरकारले फोहोर समस्या नभएर त्यसको सदुपयोगबाट मोहर कमाएको उत्कृष्ट नमूना नेपालमा पनि प्रयोग गर्न चाहेको बताए।
'हामीलाई सरकारले आवश्यक जग्गा, जनताको घरघरमा व्यवस्थित डस्वीन र जनचेतनासतिको वातावरण दिएमा फोहोरबाट सुन फलाउन तयार छौं', उनले भने।
गैरआवासीय नोपालीहरु नेपालमा फोहोरदेखि ठूला उद्यौगिक क्षेत्रमा लगानी गरेर जनतालाई प्रसस्त रोजगारी, सरकारलाई राजश्व र देशलाई स्वर्ग बनाउन तयार रहेकोले सरकारले त्यसका लागि लगानीमैत्री वातावरण गरिदिनुपर्ने उनको धारणा छ।
नगरप्रमुख नकर्मीले नगरलाई स्वच्छ र नागरिकलाई रोजगारी दिनसक्ने उत्साहित र देशप्रेमी जोकोही नेपालीलाई सकेजति सहयोग र सहकार्य गर्न आफू र आफ्नो टिम तयार रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।