काठमाडौं– कप्तान लुका मोड्रिचको गोलमा क्रोएसियाले विश्व तथा नेसन्स लिग विजेता फ्रान्सलाई पराजित गरेको छ। पेरिसमा सोमबार राति भएको खेलमा पाहुना टोली क्रोएसियाले फ्रान्सलाई १–० ले पराजित गरेको हो।
क्रोएसियाको जितमा कप्तान मोड्रिचले पाँचौ मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक बन्यो। कर्नरबाट आएको बलमा इब्राहिमा कोनाटले एन्टे बुदिमिरलाई फउल गर्न पुगेपछि रेफ्रीले क्रोएसियालाई पेनाल्टी प्रदान गर्दा मोड्रिच चुकेनन्।
यो हारसँगै साविकको विजेता फ्रान्स नेसन्स लिगको अन्तिम चारको लागि छनोट हुन असफल भएको छ। फ्रान्स नेसन्स लिग ए ग्रुप १ मा जितविहीन बन्दै छनोट हुन असफल भएको हो।
फ्रान्सले २ मा हार र २ मा बराबरी खेल्दै समूहमा २ अंक जोडेर पुछारमा रहेको छ। फ्रान्स शीर्ष स्थानको डेनमार्कसँग ७ तथा दोस्रो स्थानको क्रोएसियासँग ५ अंकले पछि परेको छ।
यो जितपछि क्रोएसियाको ४ खेलबाट ७ अंक पुगेको छ। पराजित फ्रान्स २ अंक जोडेर पुछारमा रहेको छ। डेनमार्क ९ अंक जोडेर शीर्षस्थानमा रहँदा अस्ट्रिया ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। अब समूह चरणमा दुई खेल बाँकी रहँदा फ्रान्सलाई रेलिगेसनको डर बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।