काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले मूल्यवृद्धिका कारण आपूर्तिकर्ताले मल उपलब्ध गराउन नसकेको बताएका छन्। आपूर्तिकर्ताले सम्झौताअनुसार समयमा उपलब्ध गराउन नसकेका कारण मल नआएको आइतबार प्रतिनिधि सभामा एमाले सांसदले राखेको स्थगितको प्रस्तावमा जवाफ दिने क्रममा मन्त्री यादवले बताए।
मल आपूर्तिकर्ताको बचाउ गर्दै मन्त्री यादवले भने, 'जतिबेला उनीहरुले ठेक्का पाए, त्योबेला सस्तो थियो। अहिले मूल्यवृद्धि हुँदा ल्याउन सकेनन्।' उनले समयमा मल नल्याउने कतिपयको ठेक्का रद्द गरेर कारबाही प्रक्रिया अघि बढाएको दाबी गरे।
आफूहरुले मल आपूर्तिका लागि निरन्तर प्रयास गरे पनि मलको मूल्यमा आएको उतारचढावले आपूर्तिमा असहजता उत्पन्न भएको उनको दाबी छ। साथै कोभिड- १९ को प्रकोपले विश्वबजारमै मल अभाव भएको र अहिले इन्धन र मलको ठूलो स्रोत रहेका युक्रेन र रसिया तनावले थप समस्या सिर्जना भएको मन्त्री रायको भनाइ छ।
उनले अहिलेको टेन्डर प्रक्रियामा मल ल्याउन २ सय २६ दिन लाग्ने भएकाले झन्झटिलो भएको उल्लेख गरे। यसलाई परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ छ। विभिन्न देशसँग जीटुजी सम्झौता गरेर मात्रै सहज रुपमा ल्याउन सकिने बताए।
भारतसँग जीटूजी प्रक्रियाबाट मल ल्याउने प्रयास मन्त्रालयले गरिरहेको मन्त्री यादवले बताए। उनले नेपालको कृषि सामाग्री कम्पनी र भारतको सहकारी राष्ट्रिय फर्टिलाइजर एवं केमिकल लिमिटेडको विभिन्न चरणमा छलफल समेत भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।