काठमाडौं-शैलजा आचार्यको प्रसंग चल्नासाथ धेरैले चर्चा गर्ने घटना हो-२०१७ फागुन ७ गते टुँडिखेलमा देखाइएको 'कालो झन्डा'। राजा महेन्द्रले पुस १ मा 'कू' गरेपछि सिर्जना गरेको डर र अन्याेलको परिस्थितिलाई चिर्दै शैलजासहितको समूहले त्यो साहस गरेको थियो।
सो घटनाका एक प्रत्यक्षदर्शी उत्तमनारायण श्रेष्ठ त्यतिबेला आफूहरुको समूहले पनि कालो झन्डा देखाउन तयारी गरेको बताउँछन्। नेपाल लाइभसँग केही समयअघि गरेको कुराकानीमा उनले आफूहरुलाई शैलजाको समूहले उछिनेको चर्चा गरेका छन्।
'कार्यक्रम अहिलेको विद्युत प्राधिकरणको छेउमै थियो। संयोग कस्तो भयो भने राजाभन्दा हामी धेरै टाढा थियौं हेलिकोप्टरले फूल छर्यो । शैलजा आचार्य, विजया शर्मा, उमा शर्मा, गौरी राणा, सरोज प्रधानलगायत पद्मकन्याबाट आएका केटीहरूले कालो सल ओढेका थिए। उनीहरू अलि अगाडि नै थिए। धेरै टाढा भएकाले हामी अहिले देखाउने होइन भन्दै थियौं। पद्मकन्याका केटीहरूले सल स्वाट्ठ झिकेर महेन्द्र मूर्दावाद भन्दै नारा लगाइहाले। नारा लगाउनेबित्तिकै उनीहरूलाई समातिहाल्यो', उनको भनाइ थियो।
शैलजाको त्यो सक्रियता प्रजातन्त्रप्रतिको निष्ठा र समर्पणको प्रतिफल थियो। त्यसपछि पनि उनले आफ्नो राजनीतिक यात्रालाई सोही किसिमबाट अगाडि बढाइन्। जस्तोसुकै परिस्थितिमा पनि उनले प्रजातन्त्रको लागि संघर्ष गर्न छाडिनन्। आफ्नो जब्बर छवि कायमै राखिन्। नेपालको पहिलो महिला उपप्रधानमन्त्री भएकी र कांग्रसकै पनि पहिलो महिला उपसभापति बनेकी उनलाई त्यसैकारणले भन्दा पनि उनको दृढताको कारणले सम्झना गरिन्छ।
राजनीतिशास्त्री हरि शर्मा स्वर्गीय शैलजा आचार्यलाई स्पष्ट, निडर तथा प्रजातान्त्रिक आन्दोलनप्रति अति नै प्रतिबद्ध नेताको रुपमा सम्झना गर्दछन्। 'नेपालभित्र र निर्वासनमा बसेर पनि नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी आचार्य पारिवारिक नाताभन्दा पनि बीपीको हरेक कदमलाई नजिकबाट हेरेको नेता हुनुहुन्थ्यो', नेपाल लाइभसँग उनले भने।
गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको सरकारमा कृषि मन्त्री हुँदा भ्रष्टाचारको कुनै पनि आरोप लाग्न नपाओस् भन्नेतर्फ शैलजा अत्यन्तै सजग रहेको शर्माको भनाइ छ। तर, उनले आफ्नै एउटा वक्तव्यका कारण मन्त्री पदबाट बाहिरिनु पर्याे।
रासायनिक मल आपूर्तिमा ढिलाइ भइरहेको र त्यसमा जताततै कमिसनको जालो देखेपछि मन्त्री आचार्यले यो विषयलाई सदनमै उठाइन्। २०४९ साउन ६ गतेको प्रतिनिधि सभा बैठकमा उनले 'कृषि मन्त्रालय कमिसनखोरहरुको जालोमा जेलिएको छ' भनिन्। सदनले छानबिन गरोस् भन्ने उनको अपेक्षा थियो। तर उनले सोचेजस्तो भएन।
त्यतिबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए। प्रमुख प्रतिपक्षी भूमिकामा थियो, नेकपा एमाले। कमिसनको जालोको खोजी गर्ने र सधैंका लागि निराकरण गर्नेभन्दा पनि पार्टीभित्र र बाहिरबाट शैलजाको आलोचना भयो। उनको राजीनामा माग भयो। सदनबाट स्पष्टीकरण दिएर विवाद साम्य बनाउने प्रयत्न पनि भएको थियो। तर शैलजा सदनमै गइनन्। छानबिनका लागि कसैको सहयोग नपाएपछि राजीनामा दिइन्। यो प्रकरणले शैलजाको शुद्धतावादी छवि फैलायो।
बीपीको स्कुलिङमा हुर्किएकी, प्रजातन्त्रका निम्ति समर्पित र समकालीन नेताहरुमध्ये क्षमतावान् भएकीले उनलाई प्रधानमन्त्रीको रुपमा पनि हेरिएको थियो। तर, २०४६ सालको जनआन्दोलन सफल भएर बहुदलीय प्रजातन्त्रको अभ्यास सुरु भएको केही वर्षमै पार्टीहरुभित्र निजी र गुटगत स्वार्थले जरा फैलाइसकेको थियो। निष्ठाभन्दा पनि नाफाघाटाको राजनीतिले प्रधानता पाउँदै थियो। परिणामतः उनी प्रधानमन्त्रीको कुर्सीबाट टाढाटाढा हुत्तिँदै गइन्।
२०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस पराजित भएपछि पार्टी सभापति गिरिजाप्रसाद कोइराला संसदीय दलको नेता बन्ने नैतिक परिस्थिति रहेन। त्यसैले त्यतिबेला चर्चित अवधारणा 'आरएसएस' भनेर चिनिने नेताहरु रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्यले त्यो अवसर पाउँदै थिए। तर, 'आफ्नै'हरुको चक्रव्यूहले शैलजाले त्यो पद पाइनन्।
त्यतिबेला संसदीय दलमा गिरिजाप्रसादकै वर्चस्व थियो। उनले चाहेकै नेता संसदीय दलको नेता बन्न सक्थे। उनले शैलजाको योगदानको कदर गर्न सकेको भए शैलजा संसदीय दलको नेता बन्न सक्थिन् र कालान्तरमा प्रधानमन्त्री बन्ने सम्भावना पनि रहन्थ्यो। तर त्यतिबेला कोइराला र उनी वरिपरिका नेताहरुको सहयोगमा शेरबहादुर देउवा संसदीय दलको नेता बने र २०५२ सालमा प्रधानमन्त्री पनि बने।
कांग्रेसबाट मन्त्री समेत भएका नेता बलदेव मजगैयाँ भन्छन्, 'त्यसपछि प्रधानमन्त्रीको प्रबल दाबेदार शैलजा दिदीसँग प्रायः सबै नेताहरू सतर्क हुन थाले। यसको परिणाम वहाँ पार्टीको केन्द्रीय कमिटीमा पनि एक्लिँदै जानुभयो। जसको परिणामस्वरुप २०५६ सालको आमनिर्वाचनमा दिदीकै नजिकका सहयोगीहरू पनि वहाँको विरुद्ध उभिन पुगे। परिणाममा ०५६ सालको आमनिर्वाचनमा दिदी पराजित हुनुभयो।'
त्यसपछि शैलजा राजनीतिक रुपमा ओझेल पर्न थालिन्। पार्टीमा एकथरिको हालिमुहाली बढ्दै गयो। उनी पार्टीभित्रै असान्दर्भिक हुँदै गइन्। सान्दर्भिक हुन जे गर्नुपर्ने हुन्थ्यो, त्यसका लागि उनले राजनीति गरेकै थिइनन्। राजनीतिशास्त्री शर्मा भन्छन्, 'आचार्य अहिले राजनीतिमा देखिएको साँघुरो दायराभन्दा माथि उठ्न सक्ने नेता हुनुहुन्थ्यो।'
कांग्रेस नेता तथा शैलजाका समकालीन नेता रामचन्द्र पौडेल उनलाई पार्टीभित्रका बदमासी र बेथितिको विरुद्धमा बोल्ने नेताको रुपमा सम्झिन्छन् । 'गिरिजाप्रसाद कोइरालाको भाञ्जी भएर पनि उहाँबाट भएका गलत कार्यलाई गलत भन्नुहुन्थ्यो। गणेशमान र किसुनजीमाथि भएको कुरालाई प्रतिरोध र विरोध गर्नुहुन्थ्यो। यस्तो उचित छैन, मिलेर जानुपर्छ भन्नुहुन्थ्यो। उहाँहरुको सम्मान राख्नुपर्छ भनेर पटकपटक भन्नुहुन्थ्यो', पौडेलले नेपाल लाइभसँग भने।
२०५८ असोज १८ र २०६१ माघ १९ को कदमपछि त शैलजा पार्टी लाइनभन्दा फरक ढंगले अभिव्यक्ति दिन थालिन्। परिस्थितिले कांग्रेसलाई नयाँ नीति र मान्यता अपनाउन बाध्य बनाइसकेको थियो, शैलजा भने 'क्लासिक कांग्रेस' कै रटान लगाउँथिन्। कांग्रेस अघि बढ्यो, शैलजा छुटिन्। हुत्तिइन्।
पछि त उनी यो सांसारिक यात्राबाटै बाहिर हुत्तिइन्। उपचारका क्रममा उनको २०६६ जेठ २९ गते निधन भएको थियो।
नेता पौडेल शैलजालाई राजनेताको कोटिमा प्रस्तुत गर्छन्। 'उहाँ नेपालमा प्रजातन्त्र ल्याउनका लागि साहसपूर्वक लाग्ने अत्यत्नै साहसिलो महिला हुनुहुन्थ्यो। साहसिलो नेता हुनुहुन्थ्यो', नेपाल लाइभसँग कुरा गर्दै उनले भने, 'वास्तवमा नेपाली महिलाहरुमा राजनेताको कोटिमा पुग्ने व्यक्तित्व उहाँको थियो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।