काठमाडौं- स्वतन्त्र पुँजी बजार सुधार संघले गिरोहको स्वार्थका कारण बजार झण्डै ३७ प्रतिशत भन्दा बढीले घटेर २ हजारको बिन्दुमा आइपुगेको दाबी गरेको छ।
संघले लगानिकर्ताहरुले नेतृत्व गरिरहेको आन्दोलनको आधार र मर्मलाई तोडेर आ-आफ्ना स्वार्थ बमोजिम आन्दोलनलाई तोडमोड गर्न खोज्ने प्रवृत्ति देखिएको जनाएको छ।
पुँजी बजार र लगानिकर्ताको नेताको मुहार लिएर राजनीतिक चुनावी माहोलमा आफ्नो भोट सुरक्षित गर्ने, आफ्नो संसद बन्ने सपना साकार पार्ने गतिबिधी र लगानिकर्ताहरुलाई कार्यकर्ता बनाउन खोजिएको संघले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
संघले अहिले भइरहेको आन्दोलनलाई नाटकको संज्ञा दिएको छ।
'प्रभाव पार्न सक्ने लगानीकर्ताहरुले आफ्नो स्वार्थ बमोजिम शेयर बेचेको बेला आन्दोलनमा सहभागी नहुने साथै आन्दोलन तुहाउन खोज्ने र आफूले शेयर किन्न थाले पछि अनेक स्वरुप र अनावश्यक मागहरु राखेर सडक नाटक देखाउने प्रवृत्ति अहिलेको आन्दोलनमा प्रष्टसँग देखिन्छ' विज्ञप्तिमा भनिएको छ।
'ठूला लगानीकर्ताहरुले लिएको ४/१२ करोड भन्दा बढी ऋणको सेयर बिक्री चापले समग्र लगानीकर्ताको लगानीमा नकारात्मक प्रभाव परिसकेको र अब उक्त नीतिले बजार घटाइमा कुनै पनि किसिमको फरक नपर्ने र अब बजार आफ्नो गतिमा बिस्तारै सुधार हुँदै जाने कुरालाई आधार मान्दै फेरि ४/१२ को लडाई र उक्त बुदाँ खारेजीको माग गर्नु भनेको फेरि पनि बजारलाई अप्राकृतिक रुपमा चलाउनु सरह नै जस्तै हो' विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।