काठमाडौं– एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ‘डी’ को खेलमा भारतले अफगानिस्तानसँग संघर्षपूर्ण जित निकालेको छ।
भारतको साल्ट लेक स्टेडियममा शनिबार सम्पन्न खेलमा घरेलु टोलीले अफगानिस्तानलाई २–१ गोलअन्तरले हराएको हो।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। ८६औं मिनेटमा भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले टोलीलाई अग्रता दिलाए।
तर, त्यसको दुई मिनेट नबित्दै अफगानिस्तानका जुबएर अमिरीले गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको इन्ज्युरी समयमा सहल समदले गोल गर्दै भारतलाई २–२ को जित दिलाए।
पहिलो खेलमा भारतले कम्बोडियालाई २–० ले हराएको थियो। यता, अफगानिस्तान आफ्नो पहिलो खेलमा हङकङसँग २–१ ले पराजित भएको थियो।
त्यस्तै, शनिबार नै सम्पन्न सोही समूहको अर्को खेलमा हङकङले कम्बोडियामाथि ३–० को जित निकाल्यो।
योसँगै समान ६ अंक जोडेका हङकङ र भारत शीर्ष दुई स्थानमा छन् भने अंकविहीन अफगानिस्तान र कम्बोडिया तालिकाको तेस्रो र चौंथो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।