काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अस्पतालबाट डिस्चार्ज भएका छन्।
एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरण अन्तर्गत घरेलु टोली कुवेतसँगको शनिबार भएको खेलका दौरान अल्मुताइरी 'प्रेसर लो' भएर टेक्निकल एरियामा अचेत भएर ढलेका थिए।
मेडिकल टोलीले सोही स्थानमा प्रथामिक उपचार गरेपछि थप उपचारका लागि उनलाई अक्सिजन लगाएर फारवानिया अस्पताल लगेको थियो।
नेपाली टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायका अनुसार उनी डिस्चार्ज भइसकेका छन्। ‘अहिले उहाँको अवस्था सामान्य छ। एक दिन अस्पतालमै राख्ने चिकित्सकहरूले सलाह दिनु भएको थियो। तर, पछि डिस्चार्ज गर्न मिल्छ भन्ने सल्लाह अनुसार डिस्चार्ज भयो,’ उनले नेपाल लाइभसँग भने।
समूह चरणमा कुवेतविरुद्धको खेल नेपाल ४–१ ले पराजित भएको थियो। नेपालका लागि दर्शन गुरुङले गोल गरेका थिए। यसअघि नेपाल छनोटको पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो।
छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।