काठमाडौं– खेलको क्रममा ढलेका नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको स्वास्थ्यमा सुधार आएको छ।
एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा शनिबार नेपालले घरेलु टोली कुवेतसँग प्रतिस्पर्धा गरिरहँदा उनी टेक्निकल एरियामा अचेत भएर ढलेका थिए।
टेक्निकल एरियामा नै प्राथमिक उपचार गरेपछि उनलाई अस्पताल लगिएको थियो।
नेपाली टोलीका व्यवस्थापक मधुसुदन उपाध्यका अनुसार प्रशिक्षक अल्मुताइरीको स्वास्थमा सुधार आइसकेको छ।
‘प्रेसर एक्कासी ‘लो’ भएपछि दोस्रो हाफको खेल सुरु भएको चौथो मिनेटमै टेक्निकल एरियामा ढल्न पुग्नु भएको थियो,’ उनले नेपाल लाइभसँग भने,‘ त्यसपछि अस्पताल पुर्यायौं। अहिले उहाँको अवस्था सामान्य छ।’
उनका अनुसार प्रशिक्षक अल्मुताइरीलाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको छ। ‘त्यस्तो जटिल अवस्था होइन। खेल सम्पन्न भएको केही समयपछि फोनमा कुराकानी भयो। अहिले अवस्था सामान्य छ,’ उनले भने।
उनलाई पहिलेदेखि नै मुटुको समस्या छ भने आफूभन्दा बलियो टोलीहरूविरूद्ध खेलिरहेको बेला केही बढी तनाव लिने गरेका छन्। दोस्रो हाफमा नेपालले दोस्रो गोल खाएपछि उनी टेक्निकल एरियामा ढल्न पुगेका थिए।
त्यसपछि मेडिकल टोलीले उनलाई त्यही प्राथमिक उपचार गरेर अक्सिजनको सहायतामा अस्पताल पुर्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।