काठमाडौं– जर्मन क्लब बायर्न म्युनिखले सेनेगली फरवार्ड साडियो मानेलाई भित्र्याउने प्रयास गरेको छ।
स्पेनिस समाचार माध्यमहरुका अनुसार इङ्ग्लिस क्लब लिभरपुलका फरवार्ड मानेलाई भित्र्याउन बायर्नले आफ्ना ८ खेलाडीलाई बिक्रीमा राखेको छ।
सेनेगली फरवार्ड मानेले यस सिजन एनफिल्ड छोड्ने इच्छा संकेत गरेका थिए। उनले च्यापियन्स लिग फाइनलपछि मात्र एन्फिल्ड बस्ने या नबस्ने निर्णय सार्वजनिक गर्ने बताएका थिए।
लिभरपुल स्पेनिस प्रतिद्वन्द्वी भिल्ला रियललाई सेमिफाइनलको दुवै लेगमा पराजित गर्दै च्याम्पियन्स लिगको उपाधिनजिक पुगेको थियो। लिभरपुलले भिल्ला रियलमाथि समग्रमा ५–२ को जित निकाल्न सफल भएको थियो। पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो।
यता, स्पेनिस क्लब रियल मड्रिडले इङ्लिस प्रिमियर लिगको अर्को क्लब म्यानचेस्टर सिटीलाई सेमिफाइनलको दोस्रो लेगमा अतिरिक्त समयमा ३–१ को पुनरागमन तथा समग्रमा ६–५ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
तर, फाइनलमा लिभरपुलमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै रियलले १४औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो।
मानेलाई रियल र बायर्नले भित्राउने इच्छुक देखिएका छन्। पेरिस सेन्ट जर्मन ९पीएसजी०का स्ट्राइकर किलियन एम्बाप्पेलाई अनुबन्धन गर्ने लक्ष्यले पूर्णता नपाएपछि रियल मानेलाई भित्र्याउन इच्छुक देखिएको हो।
यता, बायर्न रोबर्ट लेवान्डोस्कीको विकल्प खोज्ने प्रयास गरिरहेको छ। बायर्नसँग लेवान्डोस्कीको सम्झौता २०२३ सम्म रहेको छ। तर, उनले क्लबसँगको सम्झौता नवीकरण नगर्ने बताइसकेका छन्।
बायर्नले लगातार ८ पटक बुन्डेस लिगा र सन् २०२० मा च्याम्पियन्स लिगको उपाधि जित्दा लेवान्डोवस्की टोलीका प्रमुख खेलाडी थिए। ३३ वर्षीय फरवार्ड स्पेनिस क्लब बार्सिलोना जाने चर्चा छ।
उनी २०१४ मा अर्को जर्मन क्लब बोरुसिया डर्टमण्डबाट बायर्न आएका थिए। लेवान्डोस्कीले बायर्नका लागि बुन्डेस लिगमा ३८४ खेल खेल्दा ३१२ गोल गरेका छन्।
मानेले प्रस्ताव स्वीकार गरेमा बायर्न ओमार रिचर्ड्स, जोशुआ जिर्कजी, क्रिस्चियन फ्रुचल्ट र क्रिस्टोफर स्कटलगायत ८ खेलाडी बेच्ने तयारीमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।