हेटौंडा–विजय युथ क्लब हेटौंडा र क्यामरुन क्लब एभेनिर एफसी मकवानपुरमा जारी स्थानीय तह सहिद स्मृति चौंथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार हेटौंडाको पिप्ले रंगशालामा भएको पहिलो खेलमा नवजनजागृती युवा क्लब सिमरालाई ३–० गोल अन्तरले पराजित गर्दै घरेलु टोली विजय सेमिफाइनलमा प्रवेश गरेको हो। विजयले फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।
बिहीबार भएको दोस्रो खेलमा चर्च ब्वाइज क्लब काठमाडौंलाई ४–० गोल अन्तरले पराजित गर्दै क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको छ। योसँगै अब क्यामरुनले फाइनल प्रवेशका लागि जेठ २८ गते त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ। दोस्रो हुनेले १० लाख प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछ। व्यक्तिगत विधाका उत्कृष्टले जनही २५ हजार ट्रफी प्राप्त गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।