काठमाडौं– बक्सर सिमिसो बुथेलेजीको निधन भएको छ। दक्षिण अफ्रिकी बक्सिङ संघका अनुसार उनको गत मंगलबार निधन भएको हो।
उनी दुई दिनअघि आइतबार डब्ल्युबीएफ अल अफ्रिका लाइटवेट उपाधिका लागि भिडेका थिए। भिडन्तकै क्रममा उनी कोमामा पुगेका थिए। भिडन्त राष्ट्रिय टिभीबाट प्रसारण भएको थियो।
दक्षिण अफ्रिकी बक्सिङ संघले बिहीबार आफ्नो सामाजिक सञ्जालमा २४ वर्षीय सिमिसोले मंगलबार प्राण त्यागेको जानकारी दिएको हो।
आइतबार डर्बनमा भएको भिडन्तमा उनको टाउकोमा चोट लागेको थियो। १० राउण्डको भिडन्त सम्पन्न हुन केही सेकेण्ड समय बाँकी रहँदा उनले विपक्षी सिफेसिले मान्तुङ्वासँग आक्रामक खेल प्रदर्शन गरेका थिए।
तर, रेफ्रीले एकछिन खेल रोकेर पुनः सञ्चालन गर्न खोज्दा उनी रेफ्री भएकै ठाउँतिर हावामा पञ्च हान्न थालेपछि तुरुन्त भिड्न्त रोक्नु परेको थियो।
चिकित्सकहरूले ब्रेनमा रगत जमेका कारण उनको निधन भएको शंका गरेका छन्। अस्पताल लैजाँदा उनको टाउकोबाट रगत बगिरहेको थियो। २१ दिनअघि यस्तै भिड्न्तमा टर्कीका बक्सर मुसा यमकको निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।