काठमाडौं– यसअघि सौरभ चौधरीको निर्देशनमा बन्ने भनिएको फिल्म ‘प्रसाद २’को निर्देशकमा सुदर्शन थापा अनुबन्धित भएका छन्। फिल्मको निर्देशक फेरिएको जानकारी फिल्मको निर्माण पक्षले दिएको छ। अब फिल्मलाई थापाले निर्देशन गर्ने भएका छन्।
असार १५ बाट छायांकनमा जाने भनेको फिल्म सन् २०१८ मा प्रदर्शनमा आएको ‘प्रसाद’को सिक्वेल हो। त्यत्तिबेला फिल्मलाई दिनेश राउतले निर्देशन गरेका थिए।
सिक्वेल ‘प्रसाद २’मा पुरानै कलाकारहरुले निरन्तरता पाउनेछन्। विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत लगायतका पुराना कलाकार फिल्ममा देखिनेछन्। यी बाहेक केही नयाँ कलाकारले पनि फिल्ममा अभिनय गर्ने बताइएको छ।
सुशील पौडेलको पटकथा रहेको फिल्ममा सामाजिक कथालाई प्रस्तुत गरिने छ। जातीय भेदभावको कथा प्रस्तुत भएको फिल्म ‘प्रसाद’ प्रदर्शनपछि सामाजिक बहस सुरु गर्न सफल भएको छ। सिक्वेलमा पनि सोही मुद्दाको कथा हुने बताइएको छ। अघिल्लो फिल्म सकिएकै ठाउँबाट सिक्वेल फिल्मको सुरुवात हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।