काठमाडौं– नेपाल राष्ट्र बैंकले सबै उच्च पदस्थ अधिकारीको बैंक खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उच्चपदस्थ अधिकारीको खातालाई निगरानी गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो।
बैंक तथा वित्तीय संस्थाले स्वदेशी तथा विदेशी उच्चपदस्थ व्यक्तिको खाता निगरानी गर्नुपर्ने राष्ट्र बैंकको उक्त निर्देशनमा उल्लेख छ।
बैंक तथा वित्तीय संस्थाले राष्ट्रपति, उपराष्ट्रपति, उच्च अदालतका न्यायाधीश, संसद्का सदस्य, संवैधानिक निकायका प्रमुख तथा उच्च सरकारी कर्मचारीको खाता निगरानीमा गर्नुपर्नेछ। यस्तै विदेशी नियोगका उच्च अधिकारीको बैंक खाता पनि निगरानीमा राख्न निर्देशन दिइएको छ।
यसैगरी, कम्पनीको नाममा भइरहेका कारोबारमा वास्तविक खातावाल धनी तथा कम्पनीमा निर्देशन दिनसक्ने अधिकारीको खातासमेत निगरानीमा राख्नुपर्ने निर्देशन राष्ट्र बैंकको छ।
यसले अस्वभाविक रूपमा कारोबार भइरहेका कम्पनीमा सेयर स्वामित्व नभए पनि प्रभाव पार्ने व्यक्तिलाईसमेत निगरानी गर्न बाटो खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।