काठमाडौं– एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ए को पहिलो खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी जोर्डनसँग पराजित भएको छ।
कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा बुधबार राति सम्पन्न खेलमा पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि नेपाल कमजोर डिफेन्सका कारण २-० ले पराजित भएको हो।
जोर्डनको जितमा अलि ओल्वान र माहम्जा अल दार्दरले १/१ गोल गरे।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनविरूद्व गोलरक्षक दीप कार्की र डिफेन्डर विकास तामाङलाई डेब्यू दिएका थिए।
फिफा वरीयतामा नेपालभन्दा ७८ स्थान माथि रहेको जोर्डनविरूद्व पहिलो हाफमा गोलरक्षक दीपले पेनाल्टी जोगाएका थिए। तर, दोस्रो हाफमा जोर्डनले दुई गोल गर्दै सहज जित हात पार्यो।
खेलको पहिलो हाफको अन्त्यतिर गौतम श्रेष्ठले जोर्डनका मोहमद फैसललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले जोर्डनलाई पेनाल्टी प्रदान गरेका थिए।
तर, डेब्यू खेल खेलेका गोलरक्षक दीपले मुसा मोहमद सुलेमानको प्रहार बचाए। उक्त प्रहार दीपको हातमा लाग्दै पोस्टमा लागेर क्लियर भएको थियो।
दोस्रो हाफको ६९औं मिनेटमा जोर्डनले सुरुआती अग्रता लियो। नेपालको डिफेन्स लाइन बिट भएको अवस्थामा अलि ओल्वानले पेनाल्टी क्षेत्र भित्रबाट सुन्दर फिनिस गरेका थिए।
८२औं मिनेटमा जोर्डनले खेलको दोस्रो पेनाल्टी पायो। डिफेन्डर सुमन अर्यालले पेनाल्टी क्षेत्रभित्र मोहमद सुलेमानलाई फउल गरेपछि जोर्डनले अग्रता दोब्बर पार्ने अवसर पाएको थियो। उक्त पेनाल्टीलाई महम्जा अल दार्दरले गोलमा परिणत गरे।
उनले गरेको प्रहारलाई गोलरक्षक दीपले सही दिशामा ठम्याउन सकेनन्।
बुधबार राति नै भएको यस समूह ए को पहिलो खेलमा इन्डोनेसियाले कुवेतलाई २-१ ले स्तब्ध पारेको थियो। यस समूहमा इन्डोनेसियाले ३ अंक जोडेको छ।
नेपाल र आयोजक कुवेतले भने पराजयबाट प्रतियोगिताको सुरूआत गरेका छन्।
नेपालले अब जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ।
तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ। त्यस्तै, उत्कृष्ट ५ दोस्रो हुने टोलीले पनि सन् २०२३ मा चीनमा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।