काठमाडौं– ब्राजीलियन फरवार्ड नेयमार जुनियर पेलेको रेकर्डनजिक रहेका छन्। सोमबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण अमेरिकी राष्ट्र ब्राजीलले एसियाली राष्ट्र जापानमाथि १–० को संघर्षपूर्ण जित निकालेको थियो।
पाहुना टोली ब्राजीलले जापानमाथि १–० को संघर्षपूर्ण जित निकाल्दा नेयमारले गरेको पेनाल्टी गोल नै निर्णायक बनेको थियो।
जापान नेसनल स्टेडियम टोकियोमा भएको खेलमा ब्राजीलले घरेलु टोलीलाई बल पोसेसन राख्दै दबाव बढाए पनि गोलको लागि पेनाल्टीको सहारा लिनुपरेको थियो।
७८औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै टोलीलाई जित दिलाएका थिए। रिचार्लीसनलाई पेनाल्टी बक्समा इन्डोले फउल गर्न पुगेपछि रेफ्रीले ब्राजीललाई पेनाल्टी प्रदान गरेका थिए।
यो एक गोलसँगै नेयमार पेलेले राष्ट्रिय टोलीबाट गरेको ७७ गोलनजिक रहेका छन्। नेयमारले ब्राजीलियन अर्का स्ट्राइकर रोनाल्डोलाई पछि पारिसकेका छन्। रोनाल्डोले ९८ खेलमा ६२ गोल गरेका थिए। पेलेले ब्राजीलबाट खेलेको ९२ खेलमा ७७ गोल गरेका थिए।
नेयमारले ११९ खेलमा ७४ गोल गरेका छन्। उनी ब्राजीलका लागि धेरै खेल खेल्ने खेलाडीको सूचीमा चौथो स्थानमा छन्।
ब्राजीलका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पूर्वकप्तान काफु रहेका छन्। उनले ब्राजीलका लागि सर्वाधिक १४२ खेल खेलेका छन्।
त्यस्तै, डानी आल्भेस र रोवर्टो कार्लोसले समान १२५ खेल खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।