काठमाडौं– सुरुआति अग्रता जोगाउन नसक्दा विश्वकप विजेता फ्रान्सले युईएफए नेसन्स लिग ए ग्रुप १ अन्तर्गतको दोस्रो राउन्डको खेलमा बराबरी खेल्दै उपाविजेता क्रोएसियासँग अंक बाँडेको छ।
क्रोएसियामा सोमबार राति भएको खेलमा घरेलु टोली र फ्रान्सले १–१ गोलको बराबरी खेलेका हुन्। फ्रान्सका लागि एड्रियन राबिओट र क्रोएसियाका लागि एन्डरेज क्रामारिकले गोल गरेका थिए।
खेलको ५२औं मिनेटमा एड्रियन राबिओटले फ्रान्सलाई अग्रता दिलाएका थिए। उनले विसाम विन यडरको पासमा गोल गरेका थिए। तर, ८३औं मिनेटमा एन्डरेज क्रामारिकले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए।
परिवर्तित खेलाडी जोनाथन क्लाउअसले क्रामारिकमाथि फउल गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै क्रोएसियालाई पेनाल्टी प्रदान गरेको थियो।
यो बराबरीपछि दुवै टोलीले समूहमा अंक जोडेका छन्। फ्रान्स दुई खेलबाट १ अंक जोडेर तेस्रो तथा समान अंक र खेलबाट क्रोएसिया पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।