हेटौँडा-विभागीय टोली नेपाल पुलिस क्लब चौथो मकवानपुर गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ। हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा आइतबार भएको खेलमा पुलिसले ‘ए’ डिभिजनको नवप्रवेशी क्लब खुमलटार युथलाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।
पुलिसको जितमा अभिषेक रिजाल र भरत साहले १/१ गोल गरे। खुमलटारका अजित लामाले एक गोल फर्काए।
वर्षाले प्रभावित बनेको खेलको तेस्रो मिनेटमा अभिषेकले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाए। ३५औं मिनेटमा भरतले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे।
८५औं मिनेटमा अजितले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए पनि हार टार्न सकेनन्।
अब पुलिसले मंगलबार मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ। आइतबार बिहानै भएको अर्काे खेलमा एपीएफले फ्रेण्डस क्लबमाथि ३–० को जित निकाल्दै अन्तिम ८ को यात्रा तय गरेको थियो। शनिबार हुने भनिएको खेल वर्षाका कारण हुन नसकेपछि आइतबार खेलाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।