काठमाडौं– चितवनको बाँदरमुढेका कृष्ण अधिकारीले २०६२ जेठ २३ गतेको घटना सम्झँदै आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘माडी, बाँदरमुढे घटनाको १७ वर्ष पुगिसक्यो, कहिले पाउने हामी पीडितहरुले न्याय?’
उनी हरेक वर्ष यसैगरी उक्त दिनको सम्झना गर्न सामाजिक सञ्जालमा ‘स्टयाटस’ लेख्छन्। उनको स्टयाटसमा आक्रोश र दुःख दुबै हुन्छ।
अधिकारी बाँदरमुढे पीडित संघर्ष समितिका पूर्वउपाध्यक्ष हुन्। पीडितहरु विभिन्न पक्षमा विभाजन भएपछि उनी अहिले यो अभियानमा निष्क्रिय छन्। ‘हामी उक्त दिनको घटना कसरी भुल्न सक्छौँ?’ अधिकारीले नेपाल लाइभसँग भने, ‘पीडकहरु हरेक सरकारमा छन्, तर हामी न्याय न्याय भनिरहेका छौँ। आशा त छैन, तर त्यसो भनेर न्याय माग्न छोड्नु भएन नि!’
२०६२ जेठ २३ गते चितवनको गोविन्दबस्ती बगई (माडी)बाट भरतपुरका लागि छुटेको यात्रुबाहक बसमा तत्कालीन विद्रोही नेकपा (माओवादी) ले बाँदरमुढेमा बम विस्फोट गराउँदा ३८ जनाको घटनास्थलमै मृत्यु भएको थियो। उक्त घटनामा घाइते भएका ७२ मध्ये चार जनाको उपचारका क्रममा निधन भएको थियो।
घटना गराउने नेकपा (माओवादी) शान्ति प्रक्रियामा सामेल हुँदै मूलधारको राजनीतिमा आएर सरकारमा पटकपटक सहभागी छ। अहिले पनि माओवादी सत्ता साझेदार दल हो। तर, घटनाको १७ वर्ष बितिसक्दा सत्य–तथ्य छानबिन भई दोषीले सजाय पाएका छैनन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०७४ को निर्वाचनअघि यो घटनाका लागि माडीबासीसँग माफी माग्दै न्याय दिन सहमति पनि गरेका थिए।
निर्वाचनको समयमा बाँदरमुढे घटना ‘जनयुद्ध’मा भएको सबैभन्दा ठूलो गल्ती भएको स्वीकार गरेर उनले माफी मागे। घटनास्थलमा बनाइएको स्मारकमै पुगी आफ्नो सरकार बनेलगत्तै बाँदरमुढे घटनाका पीडित परिवारलाई सम्मान हुनेगरी सम्बोधन गर्ने घोषणा पनि गरे। उनले आफ्ना पार्टी निकट मृतकका परिवार, घाइते तथा कार्यकर्ताको भेला डाकी सहमति गरे।
२०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रले नेपाली कांग्रेससँग गठबन्धन गरेको थियो। कांग्रेसको सहयोगमा माओवादी केन्द्रकी नेतृ तथा प्रचण्डपुत्री रेनु दाहाल भरतपुर महानगरको मेयरमा निर्वाचित भइन्। २०७४ मंसिरमा भएको संघीय संसदको निर्वाचनमा प्रचण्ड नेकपा एमालेसँग वाम गठबन्धन बनाउँदै चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार भएर जित हासिल गरे।
त्यसलगत्तै एमाले र माओवादी एकीकरण भइ नेकपा बन्यो। तत्कालीन नेकपाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा तीन वर्षसम्म सरकार चलाए। प्रचण्ड नेकपाको अर्का अध्यक्ष थिए। नेकपालाई सर्वोच्च अदालतले विघटन गरेर पूर्ववत् एमाले र माओवादी केन्द्रमा फर्काएपछि अहिले कांग्रेस नेतृत्वको पाँच दलको सरकार छ। यो सरकारमा पनि माओवादी केन्द्र सहभागी छ। यसरी पटक पटक सरकारमा गए पनि प्रचण्डले आफूहरूको न्यायका लागि कुनै काम नगरेको माडीबासीको गुनासो छ।
‘१२ वर्षमा खोला फर्किन्छ रे, तर सम्पूर्ण माडिबासी र घटनाका घाइते तथा मृतक परिवारले १७ वर्षसम्म पनि न्याय पाउन सकेनौँ,’ घटनाका घाइते अधिकारीले भने, ‘न त घटनाको दोषीहरूलाई सरकार र अदालतले कारबाही नै गर्न सकेको छ? किन पीडितहरुलाई झन् झन् पीडा दिने र पीडकलाई खुलेआम हिँड्न दिइएको छ?’ न्याय दिनुको साटो पीडित तथा उनीहरुको परिवारलाई माओवादी र विभिन्न समूहले बारम्बार धम्काउने, तर्साउने, लोभ–लालच दिई घटनालाई पन्छाउन खोज्ने प्रयास मात्रै भइरहेको उनको आरोप छ।
मानव अधिकार आयोगलगायत सार्वजनिक सञ्चारमाध्यमले न्यायका लागि दिने हौसलाले गर्दा नै आफूहरूले १७ वर्षदेखि आवाज उठाउन सकेको उनी बताउँछन्। आफूहरूले न्याय नपाएसम्म आवाज उठाउन नछाड्ने उनी बताउँछन्। माडीबासीले त्यस दिनको सम्झनामा बिहान ८ बजे घटनास्थलमा शोकसभा गरेका छन्। ‘न्यायको खबरदारी मरेको छैन। हामी अझै न्याय माग्दैछौँ भनेर सन्देश दिन शोकसभा गरेका छौँ,’ उनले भने।
अर्का पीडित राधेश्याम भण्डारी अहिले पनि शारीरिक र मानसिक रूपमा ठीक हुन नसकेको बताउँछन्। बसमै सवार उनी विष्फोटपछि घाइते भएका थिए। ‘अहिले पनि ढाड दुखेर हिँड्न हुँदैन। शरीरमा अन्य समस्या पनि देखिन थालेको छ’ उनले भने ‘छोरी मिनाको सम्झनाले हामी सधैँ मानसिक तनावमा छौँ।’ उक्त विष्फोटमा परी १५ वर्षीया छोरी मिनाकुमारीको ज्यान गएको थियो।
भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धोका दिएको बताए। ‘२०७४ सालको निर्वाचनमा हामीलाई धेरै आशा देखाइयो। तर, कुनै पनि पूरा भएन,’ उनले भने ‘तत्कालीन समयमा ६० लाखसम्मको योजना देखाइयो। हामी पीडितलाई विभाजनसमेत गरियो। अहिले ती वाचा पूरा हुने छाँटकाँट छैन।’
आफूहरूले स्मारक बनाउन खोजेको स्थान मास्न माओवादीहरूले नै प्रयास गरेको उनी बताउँछन्। उनले भने, ‘अहिले पीडितहरू एक भएका छौँ। तर, दुखको कुरा जो मर्यो मर्यो हुने रहेछ। सरकारले पनि यही भनोस् भन्ने हामी चाहान्छौँ।’
अर्की पीडित निर्मल सापकोटाले आफूहरुलाई पटक पटक झुक्काइएको टिप्पणी गरे। ‘हामीहरुको मुख्य माग भनेको तत्काल घटना कसरी भयो र यसको दोषी को हो अनुसन्धान गरेर सार्वजनिक रुपमा जानकारी दिनपर्छ भन्ने हो,’ उनले भने, ‘दोषीमाथि कारबाही गर्नुपर्छ र पीडितहरुको मागको उचित सम्बोधन हुनुपर्छ।’ उक्त घटना निकै दर्दनाक भएकाले आफूहरुले बिर्सन नसकेको उनको भनाइ छ।
२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष दाहालले निर्वाचन जित्न आफूहरुसँग सहमति गरेको, तर कार्यान्वयन नगरेर झुक्काएको उनले बताए। बाँदरमुढेमा मृत्यु भएका ३८ जनालाई सोही साल माघमा सरकारले सहिद घोषणा गरेको थियो। ‘तत्कालीन समयमा हामीसँग तीन बुदेँ सहमति भएको थियो। मैले पनि उक्त कुरामा सर्मथन जनाएको थिएँ,’ उनले भने, ‘वहाँले गरेको वाचा कुनै पनि पूरा भएनन्। दोषी भएकाले कारबाही गर्नुपर्ने भनेर पीडितले औँल्याएका घनश्याम दाहाल अहिले बागमती प्रदेशको श्रम तथा यातायात मन्त्री छन्। सरकारले ढाँट्ने र अलमल्याउने काम मात्र गरेको छ।’
२०७४ सालको निर्वाचनको बेला प्रचण्डसँग सहमति गर्नेमध्येका पीडित सुदीप निउरेले पनि सहमति पालना नगरी आफूहरुलाई धोका दिइएको बताए। उक्त घटनामा उनकी दिदी डिला निउरे र भाञ्जा निश्चल सापकोटाले ज्यान गुमाएका थिए। निर्वाचनको समयमा सहमति गराउने प्रयास गरेकोमा आफूलाई पछुतो भएको उनले बताए।
कसरी भएको थियो घटना?
२०६२ जेठ २३ को बिहान भिख्नाठोरीबाट छुटेको शालीग्राम ट्राभल्सको बसमा बगई गाउँ पुग्दासम्म करिब १२० यात्रु चढिसकेका थिए। महिला, बच्चा र वृद्ध बसभित्र थिए भने करिब ५०/६० यात्रु छतमा थिए। २१ वर्षीय विक्रम महतोले चलाएको उक्त बस भत्किएको बाँदरमुढे पुललाई एकापट्टि पारेर खोलाको सुक्खा तटमा ओर्लिनासाथ विद्युतीय धरापमा परेको थियो।
गाडीको छतमा तीन जना बर्दीधारी सैनिक थिए। बाँकी सबै सर्वसाधारण थिए। त्यतिबेला तत्कालीन माओवादी चितवनका जिल्ला इन्चार्ज अविनाश (घनश्याम दाहाल) र सेक्रेटरी इन्द्रजित (यमबहादुर परियार) ले गलत आँकलन गरी विस्फोट गराएको उनीहरूकै पार्टीले समेत स्वीकार गर्दै आएको छ।
गुडिरहेको गाडीमा विस्फोट गराएर एक दुई जनाको मात्र सफाया गर्ने र बाँकी सकुशल रहने प्रविधिको विकास संसारमा कहीँ नभएकाले त्यसलाई स्वीकार गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माओवादीले सहयोग गर्नुपर्ने तर्क मानवअधिकारवादीले गर्दै आएका छन्। हतियार बोकेकै भए पनि दोहोरो भिडन्तमा नरहेका व्यक्तिलाई हत्या गर्न नपाइने अन्तर्राष्ट्रिय कानुनविपरीत माडीमा बम विस्फोट गराइएकाले दोषीले उन्मुक्ति पाउन नहुने अधिकारकर्मीहरुको तर्क छ। आयोगमा सर्वसाधारण चढेको बसमा बम विस्फोट गराई हत्या गर्ने माओवादी कार्यकर्ता र आदेश दिने माओवादी नेतालाई समेत कारबाही माग गर्दै बाँदरमुढे पीडित संघर्ष समितिले ५७ वटा उजुरी दर्ता गराएका थिए।
पीडितको उजुरीमा माओवादीका तत्कालीन अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्री शक्ति बस्नेतलगायत तत्कालीन नेतृत्व र चितवनका नेतालाई कारबाही माग गरिएको छ। उजुरी दर्ता भएकै अवस्थामा सरकारले गठन गरेको शान्ति समितिमा बम विस्फोटमा संलग्न भएको आरोप लागेका अनक मगर र चितवन जिल्ला इन्चार्ज रहेका घनश्याम दाहाल ‘अविनाश’ शान्ति समिति सदस्य भएपछि विवाद भयो। उक्त समितिमा अन्य दलका मानिस र पीडितहरुले बस्न अस्वीकार गरेपछि उनीहरुले राजीनामा दिएका थिए। दाहाल चितवन क्षेत्र नम्बर २ ‘क’ मा वाम गठबन्धनबाट विजयी हुँदै हाल प्रदेशसभा सदस्य र मन्त्री छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।