हेटौंडा– मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी सुरुआत गरेको छ।
हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा जारी प्रतियोगितामा फ्रेण्ड्स क्लबलाई ३–० गोलले पराजित गर्दै एपीएपफ क्लबले विजयी सुरुआत गरेको हो।
एपीएफको जितमा नविन लामा, सविन गुरुङ र रवि थिङले गोल गरे। खेलको २९ औं मिनेटमा लामाले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाए।
फ्रेण्ड्सका आशिष गुरुङले डी बक्स भित्र लडाएपछि एपीएफले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई लामाले सहजै गोलमा परिणत गर्दिए।
पहिलो हाफमा एक गोल गरेको एपीएफले दोस्रो हाफमा भने थप दुई गोल गरेको थियो। ७६औं मिनेटमा गुरुङले गोल गर्दै अग्रता दोब्बर बनाए। त्यस्तै, इन्ज्युरी समयमा थिङले गोल गर्दै खेल ३–० ले जिताए।
खेलको म्यान अफ द म्याच एपीएफका प्रदिप लामा घोषित भए। उनले नगद दश हजार प्राप्त गरे। शनिबार दिउँसो भारी वर्षाका कारण स्थगित भएको खेल आइतबार भएको हो।
यसैगरी आइतबार अपरान्ह्र नेपाल पुलिस क्लब र खुमलटार युवा क्लबबीच खेल हुनेछ। यही जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्डकपमा १२ क्लबको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।