काठमाडौं– इङ्ग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो मानेले अफ्रिकी राष्ट्र सेनेगलका फरवार्ड हेनरी कामरा जुनियरको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोडेका छन्।
अफ्रिका कप अफ नेसन्सको छनोट चरणमा बेनिनविरुद्ध ह्याट्रिक गर्दै उनले कामराको कीर्तिमान भंग गरेका हु्न।
शनिबार राति भएको खेलमा सेनेगलले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बेनिनलाई ३–१ ले पराजित गरेको थियो। बेनिनका जुनिअर ओलाइटनले एक गोल फर्काए। खेलको १२औं मिनेटमा मानेले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए।
२२औं मिनेटमा मानेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे। ५१औं मिनेटमा पाहुना टोली बेनिन १० खेलाडीमा समेटिन पुग्यो। सेस्सी डि अल्मेइडा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।
६०औं मिनेटमा मानेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि सेनेगल खेलमा ३–० ले अघि बढ्यो। ८८औं मिनेटमा जुनियरले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल हुन नसक्दा सेनेगल विजयी भयो।
बेनिनविरुद्धको ह्याट्रिकसँगै माने सेनेगलको सर्वाधिक गोलकर्ता बनेका छन्। उनले कामराको २९ गोलको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका हुन्। २०१२ देखि राष्ट्रिय टोलीमा रहेका मानेले ९० क्याप जित्दा ३२ गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।