काठमाडौं– युईएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा इटाली र जर्मनीले बराबरी खेल्दै अंक बाँडेका छन्। इटालीको बोलोग्नामा शनिबार राति भएको खेलमा घरेलु टोली र जर्मनीले १–१ गोलको बराबरी खेलेका हुन्।
इटालीका लागि लोरेन्जो पेलिग्रेनीले गोल गर्दा जर्मनीका योसुवा किम्मिखले बराबरी गोल फर्काए। प्रतिस्पर्धात्मक खेलको दुवै गोल दोस्रो हाफमा भएको थियो।
७०औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले डेगनान्ड वेलफ्रेड जिनोन्टोको पासमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए।
तर, इटालीको त्यो अग्रता तीन मिनेट पनि टिकेन। ७३औं मिनेटमा योसुवा किम्मिखले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि थप गोल नहुँदा खेल बराबरीमा टुंगियो।
यो बराबरीपछि यी दुवै टोलीले समूहमा एक अंक जोडेका छन्। जर्मनी दोस्रो तथा इटाली तेस्रो स्थानमा छन्। इंग्ल्यान्ड पुछारमा तथा हंगेरी ३ अंक जोडेर शीर्षस्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।