काठमाडौं– आसन्न ‘ए’ डिभिजन लिगको तयारीमा रहेको न्यूरोड टिम (एनआरटी)ले मलेसियामा टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेल्ने भएको छ।
एनआरटीले ‘ए’ डिभिजन लिगलाई लक्षित गर्दै प्रि–सिजनमा मलेसियाको पेनाङमा हुने टीवाईटी कप फुटबल प्रतियोगिता खेल्न लागेको हो।
यो प्रतियोगिता पेनाङका शहर प्रमुख मिस्टर याङले पदबहाली ग्रहण गरेको पहिलो बार्षिकोत्सवको अवसरमा हुन लागेको हो। २८ जुनदेखी २ जुलाईसम्म हुने प्रतियोगितामा एनआरटीसहित मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र बंगलादेश प्रिमियर लिगको क्लब मुक्तिजोधा सङसद केसीले प्रतिस्पर्धा गर्ने क्लबका महासचिव नरेन्द्रमान श्रेष्ठले बताए।
प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ। उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछन्।
एनआरटीले उक्त प्रतियोगितालाई लक्षित गर्दै खेलाडी अनुबन्ध प्रक्रिया थालिसकेको र केही दिनमै प्रशिक्षण सुरु गरिने श्रेष्ठले जानकारी दिए। एनआरटीले मलेसिया जानुअघि नेपालमै दक्षिण पूर्वी एसियाको अन्य क्लबहरुसँग मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ।
एनआरटीले हालसम्म पाँचपटक ‘ए’ डिभिजन लिगको उपाधि जितिसकेको छ। गत फागुनमा सम्पन्न लिगमा एनआरटी तेस्रो भएर सिजनको अन्त्य गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।