काठमाडौं– मोफसलको झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको च्याम्पियन बनेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको ‘सी’ डिभिजन लिगको अन्तिम राउन्डको खेलमा स्वयम्भु क्लबलाई ४–२ ले पराजित गर्दै झापा च्याम्पियन बनेको हो।
एक खेल अगावै ‘बी’ डिभिजन लिगमा बढुवा भइसकेको झापाको जितमा विशाल खवासले २ तथा मनिष लिम्बु र पुजन राईले समान १÷१ गोल गरे। स्वयम्भुका रोशन क्षेत्री र पाल्साङ लामाले १÷१ गोल फर्काए।
खेलको तेस्रो मिनेटमै विशालको गोलबाट झापाले सुरुआती अग्रता लिएको थियो। ३९औं मिनेटमा विशालले नै गोल गर्दै झापाको अग्रता दोब्बर पारे। ४८औं मिनेटमा मनिषले गोल गरेपछि झापा सहज जिततर्फ अग्रसर बन्यो।
५१औं मिनेटमा रोशनले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए। त्यसको चार मिनेटपछि पुजनले गोल गर्दै झापालाई ४–१ ले अघि बढाए। ६७औं मिनेटमा पाल्साङले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याए पनि त्यसपछि थप गोल निस्कन नसक्दा झापा विजयी भयो।
झापाले लिगको १३ खेलबाट ३४ अंक जोड्यो। दोस्रो हुँदै ‘बी’ डिभिजनमा बढुवा भएको प्लानिङ ब्वाइज युनाइटेड क्लबले ३१ तथा तेस्रो भएको आरसी–३२ फुटबल एकेडेमीले २९ अंक जोड्यो।
उपाधिसँगै झापाले १० लाख रुपैयाँ हात पारेको छ। दोस्रो भएको प्लानिङले ७ लाख तथा तेस्रो भएको आरसी ३२ ले ४ लाख रुपैयाँ हात पारेको छ।
झापाका पारस कार्की प्लेयर अफ दि म्याच घोषित भए। उनले ५० हजार रुपैयाँ हात पारे। महावीर क्लबले फेयर प्ले अवार्डसँगै ५० हजार रुपैयाँ हात पारेको छ।
प्लानिङका फागुराम थारु र सानेपाका खेमराज तामाङले समान १४ गोल गर्दै गोल्डेन बुट र ३५ हजार रुपैयाँ बाँडेका छन्। प्लानिङका लोकेश चौधरी लिगको उत्कृष्ट गोलरक्षक घोषित भए। उनले ३५ हजार हात पारे।
१४ टोलीले ‘सी’ डिभिजन लिगमा प्रतिस्पर्धा गर्दा वीरगञ्ज युथ एकेडेमी र ओसिस क्लब रेलिगेसनमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।