काठमाडौं– इटालियन क्लब युभेन्टसले फ्रान्सेली मिडफिल्डर पल पोग्वालाई भित्र्याउने तयारी थालेको छ। इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडमा पोग्वाको सम्झौता ३० जुनमा सकिँदैछ।
त्यसपछि उनी फ्री–ट्रान्सफरमा अन्यत्र क्लबमा जानेछन्। पोग्वा युनाइटेडको इतिहासमा सबैभन्दा महँगो खेलाडी बनेका थिए। उनी २०१६ मा कीर्तिमानी ८९ मिलियन पाउन्डमा इटालियन क्लब युभेन्टसबाट युनाइटेडमा फर्किएका थिए।
उनी युनाइटेडको एकेडेमीमा हुर्किएका थिए। उनी २०१२ मा इटाली पुगेका हुन्। युभेन्टसले अहिले फ्री–ट्रान्सफरमा उनलाई अनुबन्ध गर्ने तयारी थालेको हो। युभेन्टसले पोग्वालाई फर्काउन करिब ८ मिलियन यूरो तलबको प्रस्ताव गरेको इटालीयन सञ्चार माध्यमले बताएका छन्।
पोग्वम युभेन्टसमा सफल चार सिजन बिताएपछि युनाइटेड फर्किएका थिए। युभेन्टमा उनी सिरी ए च्याम्पियन र युरोपका उत्कृष्ट मिडफिल्डर बनेका थिए। युनाइटेड फर्किएपछि पोग्वा मूल्य अनुसार चल्न सकेन।
यो सिजन पोग्वाले २९ खेलमा मौका पाउँदा एक गोल मात्रै गरेका छन्। पोग्वा २०१८ मा फ्रान्सबाट विश्व विजेता बने। उनले युनाइटेडमा दोस्रो सिजनमा ३९ गोलसँगै ५१ असिस्ट दिएका थिए।
पोग्वा फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन र स्पेनिस क्लब रियल मड्रिडसँग पनि जोडिएका थिए। तर, उनले आफू युभेन्टस नै फर्कन चाहेको संकेत गरेका थिए। अन्तिम निर्णय भने उनले गरिसकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।