काठमाडौं– रेलिगेसनमा परिसकेको ओसिस क्लबमाथि फराकिलो जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ‘बी’ डिभिजनमा बढुवा भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको एकपक्षीय खेलमा प्लानिङ ब्वाइजले ओसिसलाई ५–० गोल अन्तरले पराजित गरेको हो।
प्लानिङ ब्वाइजको जितमा फागुराम थारुले ह्याट्रिक पूरा गरे। यता, अर्जुनकुमार राना र ओमप्रकाश चौधरीले १÷१ गोल गरे। खेलको तेस्रो मिनेटमै फागुरामले टोलीलाई अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेटपछि नै उनले व्यक्तिगत दोस्रो गोल गरे।
खेलको १६औं मिनेटमा उनले गोल गर्दै ह्याट्रिक पूरा गरे। पहिलो हाफमा ३–० गोल अन्तरले अगाडि रहेको प्लानिङ ब्वाइजले दोस्रो हाफमा थप दुई गोल गर्यो।
खेलको ५३औं मिनेटमा अर्जुनले गोल गर्दै टोलीलाई ४–० को अग्रता दिलाए। यस्तै, ८२औं मिनेटमा ओमले गोल गर्दै प्लानिङ ब्वाइजलाई ५–० को सानदार जित दिलाए।
२०१२ मा स्थापित प्लानिङ ब्वाइज ९ खेलमा जित र ४ खेलमा अपराजित रह्यो। प्लानिङ ब्वाइज ‘सी’ डिभिजनमा अपराजित रहने एक्लो टोली हो। यसअघि नै ‘बी’ डिभिजनमा उक्लिसकेको झापाले एक खेलमा हार बेहोरेको थियो।
शुक्रबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अर्को खेलमा आरसी–३२ फुटबल एकेडेमीले स्पोर्ट्स एकेडेमी साँगासँग गोलरहित बराबरी खेल्यो।
आरसी– ३२ लाई ‘बी’ डिभिजनमा बढुवा हुन प्लानिङ ब्वाइजले अंक गुमाउनुपर्ने तथा आफूले जित निकाल्नु पर्ने समीकरण रहेको थियो। तर, नतिजा आफू अनुकूल ननिस्किँदा आरसी–३२ ले अर्को वर्षका लागि ‘सी’ डिभिजनमा नै रह्यो।
जितसँगै प्लानिङ ब्वाइजले १३ खेलबाट ३१ अंक जोडेको छ। ओसिस ४ अंक जोडेर पुछारमा रह्यो। ओसिससँगै वीरगञ्ज युथ एकेडेमी रेलिगेसनमा परिसकेको छ।
अब यसअघि नै बी डिभिजनमा बढुवा भइसकेको झापा फुटबल क्लबले अन्तिम खेलमा हार बेहोरेको खण्डमा प्लानिङ ब्वाइज ‘सी’ डिभिजन च्याम्पियन बन्नेछ। बराबरी या जितले झापा नै ‘सी’ डिभिजन च्याम्पियन बन्नेछ। झापाको १३ खेलबाट ३१ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।