काठमाडौं– खेलको अन्त्यतिर परिवर्तित खेलाडी रिकार्डो होर्टाले गोल गरेपछि पोर्चुगल युइएफए नेसन्स लिग ए ग्रुप २ को खेलमा हारबाट जोगिएको छ।
सेभिलमा बिहीबार राति भएको खेलमा घरेलु टोली स्पेनसँग पोर्चुगलले एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै १–१ गोलको बराबरी खेलेको हो। स्पेनका अल्भारो मोराटाले गोल गर्दा पोर्चुगलका रिकार्डो होर्टाले बराबरी गोल फर्काए।
स्पेनले २५औं मिनेटमा मोराटाको गोलबाट अग्रता लिएको थियो। तर, स्पेनले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन। परिवर्तित खेलाडी रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई हारबाट जोगाए।
७२औं मिनेटमा राफयल लियोको स्थानमा मैदान छिरेका रिकार्डो होर्टाले ८२औं मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
यो बराबरीपछि लिग ए ग्रुप २ मा दुवै टोलीले समान एक अंक जोडेका छन्। गोल अन्तरमा पोर्चुगल दोस्रो तथा स्पेन तेस्रो स्थानमा रहेको छ।
यही समूहको अर्को खेलमा चेक रिपब्लिकले स्वीट्जरल्यान्डलाई २–१ ले पराजित गरेको छ। चेकको जितमा जान कुचताले एक गोल गर्दा एक गोल उपहार पाएको थियो।
यो नतिजापछि चेक समूहमा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ। अंकविहीन स्वीट्जरल्यान्ड पुछारमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।