काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका उम्मेदवारी दिएका दुईजना अयोग्य ठहरिएका छन्।
एन्फा निर्वाचनका लागि गठित निर्वाचन समितिले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका सप्तरी जिल्ला फुटबल संघका रमेशकुमार श्रेष्ठ र बारा जिल्ला फुटबल संघका शम्भु सिंह ठकुरीलाई अयोग्य ठहर गर्दै उनीहरूको उम्मेदवारी खारेज गरेको हो।
निर्वाचन समितिका सदस्यसचिव बद्री भट्टराईका अनुसार एन्फाको इन्टिग्रिटी कमिटीले उम्मेदवारहरूको निष्ठा र अन्य पक्षको विशेष अध्ययनपछि बुझाएको प्रतिवेदनलाई आधारलाई टेकेर अयोग्य ठहर गर्दै उम्मेदवारी खारेजी गरिएको हो।
इन्टिग्रिटी कमिटीले बुझाएको प्रतिवेदनमा यी दुवै उम्मेदवारहरुले जेठ १२ गतेलाई तोकिएको अन्तिम समयसीमासम्म उम्मेदवारी दर्ता नगराएको देखिएको छ।
यी दुवैको उम्मेदवारी निर्वाचन समितिले जेठ १२ गते दर्ता गरेको भए पनि उम्मेदवारी वापत बुझाउनुपर्ने शुल्क जेठ १६ गते अर्थात चार दिनपछि मात्र बैंकमा दाखिला गरेका थिए। सोही कारण समितिले उनीहरूको उम्मेदवारीलाई कानुनी मान्यता नदिइ खारेज गरेको भट्टराईले जानकारी दिए।
अब निर्वाचन समितिको निर्णयप्रति कुनै गुनासो रहे खारेजीमा परेका उम्मेदवारहरूले प्रारम्भिक नामावली उपर दावी विरोधको अपील गर्नुपर्ने हुन्छ।
यसअघि बुधबार नै निर्वाचन समितिले चार जना मताधिकार प्रतिनिधिहरूको अधिकार खारेज गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।