काठमाडौं– कोलम्बियाली पप गायिका शकिराले आफ्ना पार्टनर तथा स्पेनिस फुटबल लिजेन्ड जेरार्ड पीकेसँग अलग हुने निर्णय गरेकी छन्।
शकिराले पीकेमाथि अर्की महिलासँग सम्बन्ध राखेको र आफूलाई धोका दिएको आरोप लगाएकी छन्। स्पेनिस पत्रिका एल पेरियोडिकोका अनुसार पीके अर्की महिलासँग अफेयरमा छन्। त्यसैकारण यी जोडीले अलग हुने निर्णय गरेको हो।
शकिरा र पीकेलाई हलिउडको सबैभन्दा मनपर्ने जोडी मानिन्छ। यी दुई सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपदेखि नै सम्बन्धमा थिए। त्यसपछि दुवै फुटबल गीत ‘वाका–वाका’ मा पनि सँगै देखिएका थिए।
पीके र शकिराले विवाह गरेका छैनन् र उनीहरुको उमेरमा पनि १० वर्षको अन्तर छ। शकिराभन्दा पीक १० वर्ष कान्छा हुन्। उनीहरूका दुई सन्तान (शाशा पीके मेबारक र मिलन पीके मेबारक) छन्।
पीके हाल बार्सिलोनाको क्याल मुन्टानेरमा एक्लै बस्दै आएका छन्। ३५ वर्षीय पीके स्पेनका अलावा बार्सिलोनाबाट पनि खेल्छन्। तर, उनी लामो समयदेखि क्लबको मुख्य डिफेन्डर भूमिकाबाट बाहिर छन्।
उनलाई प्लेइङ–११ मा पनि स्थान दिइएको छैन। क्लबका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले रोनाल्ड अराउजो र एरिक गार्सियालाई ला लिगामा पीकेको स्थानमा भित्र्याउन लागेका छन्।
पीकेले २०२०–२१ मा बार्सिलोनाका लागि सबै प्रकारका प्रतियोगिताहरू सहित ४१ खेल खेलेका थिए। हाल, प्रशिक्षक जाभीले चेल्सीका डिफेन्डर एन्ड्रियास क्रिस्टियनसेनलाई क्लबमा ल्याउने प्रयास गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।